ओखलढुंगामा प्रत्यक्षतर्फका मतपत्र समानुपातिकतर्फको मतपेटिकामा भेटिएका छन् । मतगणना सुरु गर्नुपूर्व यी मतपत्रलाई हराएको मानिएको थियो । तर समानुपातिकको गणनाका क्रममा बाकस खोल्दा प्रत्यक्षतर्फका मतपत्र भेटिएका हुन् ।
यहाँ केवल ५ मतको अन्तरले हारजितको छिनोफानो भएको थियो । त्यसैले यी मतपत्र भेटिएपछि यी मतपत्रले परिणाम नै फरक पार्ने अप्ठ्यारिो परिस्थिति देखिएको हो । तर, अब भने यी मतपत्रले फरक पार्ने छैनन् । यहाँका सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेका अनुसार मतगणना सुरु गर्नुपूर्व नै सर्वदलीय मुचुल्कामा प्रत्यक्षतर्फको मतपत्र समानुपातिकतर्फको मतपेटिकामा भेटिएमा बदर गर्ने भनेर सहमति गरी हस्ताक्षर गरिएकोले यी मतपत्र बदर भएका छन् ।
यहाँ नेपाली कांग्रेसका कुमार लुइँटेललाई पाँच मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् । झिनो अन्तरले हारेका कांग्रेस दम्मेदवार लुइँटेलले पनि अब यी मतपत्र बदर भइसकेको बताए । प्रत्यक्षतर्फको गणना सकिँदा प्रत्यक्षतर्फको बाकसमा मुचुल्कामा भन्दा १८८ मत कम भेटिएको कांग्रेसका उम्मेदवार लुइँटेलले बताएका थिए ।





