पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनमा आफुले हारेपछि चुनाव लडेको दल र चुनाव चिन्ह त्यागेको घोषणा गरेका छन्। उनले आज रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा आफूले कुनै दलको सदस्यता नलिएको र चुनावका लागि मात्र दल र चिन्ह प्रयोग गरेको बताएका छन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा धमला रौतहट निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवार बनेका थिए। उनले आम जनता पार्टीको समर्थनमा चुनाव लडेका थिए। तर निर्वाचनमा भने उनी पराजित भएका थिए।
चुनावअघि धमलाले मतदातासँग नजिकिन विभिन्न शैलीका प्रचार अभियान सञ्चालन गरेका थिए। उनी गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट गर्ने, खेतमा काम गर्ने, स्थानीयसँग संवाद गर्ने जस्ता गतिविधिमा सक्रिय देखिएका थिए।
सञ्चारकर्मीका रूपमा चिनिएका धमला लामो समयदेखि टेलिभिजनमार्फत प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ नामक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। पत्रकारितामा लामो समय सक्रिय रहेका उनले पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए।
निर्वाचनपछि भने उनले आफू कुनै दलसँग आबद्ध नरहेको र चुनाव सकिएसँगै दल तथा चुनाव चिन्ह त्यागेको घोषणा गरेका हुन्।





