हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक कीर्तिमान कायम गरेको छ। प्रत्यक्ष निर्वाचनतर्फ निर्वाचित सिट संख्या र प्रतिशत दुवैका आधारमा रास्वपाले नयाँ रेकर्ड बनाएको हो।

निर्वाचन आयोगले सार्वजनिक गरेको हालसम्मको परिणामअनुसार १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२४ सिटमा जित हासिल गरिसकेको छ भने एउटा सिटमा अग्रता कायम गरेको छ। एउटै दलबाट प्रत्यक्षतर्फ यति धेरै उम्मेदवार विजयी भएको यो पहिलो पटक हो।



यसअघि २०६४ सालको निर्वाचनमा तत्कालीन माओवादीले २४० निर्वाचन क्षेत्रमध्ये १२० सिटमा जित हासिल गरेको थियो। तर त्यसबेला कुल निर्वाचन क्षेत्र २४० थियो। अहिले १६५ क्षेत्रमै रास्वपाले त्योभन्दा बढी सिट जित्दै नयाँ इतिहास बनाएको हो।

प्रत्यक्षतर्फ निर्वाचित सिटको प्रतिशतका आधारमा पनि रास्वपाले अर्को कीर्तिमान बनाएको छ। १६५ मध्ये १२१ सिट जित्नु भनेको ७३ दशमलव ३३ प्रतिशत सिट जित्नु हो, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो।

यसअघि २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसले १०९ मध्ये ७४ सिटमा जित हासिल गरेको थियो, जुन ६७ दशमलव ८९ प्रतिशत हो। त्यसपछि कुनै पनि चुनावमा त्योभन्दा राम्रो परिणाम प्राप्त भएको थिएन।

२०४८ सालको निर्वाचनमा २०५ सिट रहेकोमा कांग्रेसले ११० सिट जितेको थियो, जुन ५३ दशमलव ६५ प्रतिशत हो।

२०५१ सालको मध्यावधि निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले २०५ मध्ये ८८ सिट जितेको थियो, जुन ४२ दशमलव ९३ प्रतिशत हो।

२०५६ सालमा भएको निर्वाचनमा कांग्रेसले २०५ मध्ये १११ सिटमा जित हासिल गरेको थियो, जुन ५४ दशमलव १५ प्रतिशत बराबर हो।

२०६४ सालमा माओवादीले २४० मध्ये १२० सिटमा जित हासिल गरेको थियो, जुन ५० प्रतिशत हो। त्यसबेला समानुपातिकसहित माओवादीसँग २२० सांसद थिए, जुन संख्या अहिलेसम्मकै धेरै मानिन्छ।

२०७० सालमा कांग्रेसले २४० सिटमध्ये १०५ सिट जितेको थियो, जुन ४३ दशमलव ७५ प्रतिशत हो।

२०७४ सालमा एमालेले १६५ सिटमध्ये ८० सिटमा जित हासिल गरेको थियो भने माओवादीले ३६ सिटमा जित निकालेको थियो।

२०७९ सालमा कांग्रेसले १६५ मध्ये ५७ सिट जितेको थियो, जुन ३४ दशमलव ५५ प्रतिशत हो।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि रास्वपाले नयाँ कीर्तिमान बनाएको छ। हालसम्म गणना भएको मतअनुसार रास्वपाले ४० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ।

यसअघि २०७४ सालमा एमालेले ३१ लाख ७३ हजार मत ल्याएको थियो। २०६४ सालमा माओवादीले ३१ लाख ४४ हजार, २०७० सालमा कांग्रेसले २४ लाख १८ हजार र २०७९ सालमा एमालेले २७ लाख ९१ हजार मत प्राप्त गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय