सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति तथा आफ्ना प्रतिस्पर्धी गगनकुमार थापालाई अब चुनाव सकिएकाले तिता अनुभव बिर्सेर देश निर्माणको दिशामा अघि बढ्नुपर्ने सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत खुला पत्र सार्वजनिक गर्दै सिंहले आगामी दिनमा विभिन्न राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्ने बताएका छन्। उनले राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ राजनीतिक संस्कारमा रूपान्तरण गर्नुपर्नेमा पनि जोड दिएका छन्।
पत्रमा सिंहले थापाले सर्लाहीमा आएर चुनाव लडेको विषयमा धन्यवाद व्यक्त गरेका छन्। उनले थापा आफैँ उम्मेदवार बनेको भए प्रतिस्पर्धा अझ रोचक हुने उल्लेख गर्दै आफूविरुद्ध व्यक्तिगत तथा पारिवारिक जीवनसँग जोडेर टिप्पणी गराइएको दाबी पनि गरेका छन्।
यस्ता टिप्पणीहरू गराइए पनि त्यसले आफूलाई खासै फरक नपरेको उनले बताएका छन्। सिंहले राजनीति व्यक्तिको निजी जीवनमा होइन, सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
सिंहले भ्रष्टाचारविरुद्ध जनताले स्पष्ट सन्देश दिएको भन्दै त्यसलाई गम्भीर रूपमा लिन आग्रह गरेका छन्। “अब भ्रष्टहरूलाई ठीक ठाउँमा लगाउने जनमत आएको छ,” भन्दै उनले स्वच्छ राजनीतितर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
साथै, गगन थापाले कांग्रेसभित्र परिवर्तन खोजिरहेको उल्लेख गर्दै पार्टी परिवर्तन गर्न खोज्दा स्वयं पनि परिवर्तनको उदाहरण बन्नुपर्ने सुझाव दिएका छन्। उनले थापाको आगामी राजनीतिक यात्रा सफल, सफा र स्वच्छ होस् भन्ने कामना व्यक्त गरेका छन्।





