दैलेखबाट नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएकी छन्।
निर्वाचन आयोगले शनिबार सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार थापाले १२ हजार ३७२ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रविन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा थापा दैलेखको नारायण नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनेकी थिइन्। उक्त निर्वाचनमा पराजित भएकी थापा अहिले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुन सफल भएकी हुन्।
काठमाडौंमा जन्मे–हुर्केकी थापा २०५९ सालमा विवाहपछि दैलेख गएकी हुन्। हाल उनी दैलेखको नारायण नगरपालिकाकी स्थायी बासिन्दा हुन्।
उनका हजुरबुवा नरबहादुर थापा २०१५ सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१ (हालको क्षेत्र नम्बर–९) बाट निर्वाचित भएका थिए।
२०५७ सालमा नेविसंघमा आबद्ध भएकी थापा २०६१ सालमा दैलेखबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेकी थिइन्। त्यसपछि पार्टी संगठन, सामाजिक गतिविधि तथा समाजसेवामा उनको सक्रियता निरन्तर रहँदै आएको छ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पनि उनले शेखर–गगन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी थिइन्।
राजनीतिक गतिविधिसँगै थापाले होटल व्यवसाय पनि सञ्चालन गरिरहेकी छन्। साथै लायन्स क्लबजस्ता सामाजिक संस्थामार्फत समाजसेवामा समेत उनी सक्रिय रहँदै आएकी छन्।





