दोलखाको तामाकोशी गाउँपालिका–२ मा प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एक मतले अघि परेपछि नेपाली कांग्रेस तामाकोशी गाउँपालिकाका पार्टी सचिव राजेन्द्र योञ्जनले पदबाट राजीनामा दिएका छन्।
मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार अजबाबु शिवाकोटीले ३४६ मत प्राप्त गरेका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३४७ मत ल्याएका थिए। यससँगै खरेल एक मतले अघि परेका हुन्।
आफ्नै वडामा कांग्रेस उम्मेदवार एक मतले पछि परेपछि योञ्जनले नैतिक जिम्मेवारी लिँदै पार्टी सचिव पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
सामाजिक सञ्जालमार्फत राजीनामाको जानकारी दिँदै उनले आफ्नो वडामा यसअघि भएका अधिकांश निर्वाचनमा कांग्रेसले जित हासिल गर्दै आएको उल्लेख गरेका छन्। यस पटक एक मतले हार भएपछि नैतिक जिम्मेवारीका आधारमा पद त्याग गरेको उनले बताएका छन्।





