जाजरकोटमा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका बस्नेतलाई नेपाली कांग्रेसका खड्गबहादुर बुढाले २ हजार ७३५ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचित बुढाले २० हजार १४२ मत ल्याएका छन् । बस्नेतले १७ हजार ४०७ मत ल्याए । त्यस्तै, नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत पाए । रास्वपाले राघव कार्कीले २ हजार ४७१ मत पाए ।
निर्वाचित भएका कांग्रेसका बुढा ०७४ मा शिवालय गाउँपालिका अध्यक्ष पदको चुनावमा पराजित भएका थिए ।
यद्यपि, उनी जिल्लामा युवाहरूबिच परिचित युवा नेता हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी पार्टीको जिल्ला उपसभापति तथा कार्यवाहक सभापति छन् ।
बुढा पश्चिम क्षेत्रका उम्मेदवार हुन् । उनी बाहेक सबैजसो उम्मेदवारहरू पूर्वी जाजरकोटबाट थिए । ०५६ सालयता पश्चिम क्षेत्रबाट उम्मेदवार पाएको थिएन । जसका कारण उनले सहानुभूतिको मत पाएका छन् ।






