धनुषा — धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिवाकर साह फेरि पत्रकारितामा सक्रिय भएका छन्। निर्वाचनमा अपेक्षित मत नआएपछि उनको जमानत जफत भएको हो।
संसद प्रवेश गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका साहले चुनावअघि जनतासँग चन्दा संकलन गरेर चुनाव जित्ने दाबी गरेका थिए। तर मत परिणाम अपेक्षाअनुसार नआएपछि उनी पुनः रिपोर्टिङमा फर्किएको बताइएको छ।
जेनजी आन्दोलनपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नजिक पुगेका थिए। रास्वपाबाट टिकट पाउने आशा राखे पनि टिकट नपाएपछि उनले पार्टीका प्रवक्ता मनिष झाप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारका रूपमा ‘आम’ चुनाव चिन्ह लिएर चुनाव लडेका थिए।
निर्वाचन परिणाम अनुकूल नआएपछि साह फेरि पत्रकारितामा सक्रिय देखिएका छन्। आज उनले महोत्तरीस्थित पूर्वाधार विकास कार्यालय पुगेर आफू कुटिएपछि उम्मेदवार बनेको दाबी गर्दै सो घटनाबारे रिपोर्टिङ गरेको बताइएको छ।






