दोलखाको तामाकोशी गाउँपालिका–४ मालुस्थित गोल्मेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुनः सुरु भएको छ।
सो मतदान केन्द्रमा केहीबेरअघि मतदान प्रक्रिया पुनः सुचारु भएको मतदान अधिकृत ज्ञानकुमार खड्काले जानकारी दिएका छन्। मतदान सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गरेर तितरबितर भएका मतदातालाई पुनः मतदान केन्द्रमा आउन आग्रह गरिरहेको छ।
उक्त केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद उत्पन्न भएको थियो। विवादका क्रममा उत्तेजित भीडले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन हवाई फायरसमेत गरेका थिए।
हवाई फायरपछि त्रसित बनेका मतदाता तितरबितर हुँदा केही समय मतदान प्रक्रिया अवरुद्ध भएको थियो। अहिले भने सुरक्षा व्यवस्था कडा बनाउँदै मतदान कार्य पुनः सञ्चालनमा आएको जनाइएको छ।





