दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रबाट ५६ बुक मतपत्र हराएपछि मतदान प्रभावित भएको छ।
बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको केही समयमै मतदानस्थलमा खटिएका कर्मचारीमाथि एक समूहले हातपात गर्न खोजेपछि विवाद सुरु भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर समेत गरेको थियो।
विवाद समाधानका लागि सर्वदलीय बैठक बसेर मतदान पुनः सुरु गर्ने सहमति भए पनि मतपत्र हराएको पुष्टि भएपछि मतदान अझै सुरु हुन सकेको छैन।
दोलखामा निर्वाचन व्यवस्थापनमा खटिएका एसएसपी सोमेन्द्र सिंह राठौर का अनुसार मतदानस्थलबाट ५६ बुक मतपत्र गायब भएको छ र त्यसको खोजी भइरहेको छ। निर्वाचन आयोगका कर्मचारी र सुरक्षाकर्मीले हराएको मतपत्र मुचुल्का गरेर गणना नगर्ने गरी मतदान सुरु गर्न प्रस्ताव गरेका छन्, तर दलका प्रतिनिधिहरूले त्यसमा सहमति जनाएका छैनन्।
घटनामा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको बताइएको छ।





