राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाका उपसभापति ध्रुव अधिकारी पाँच लाख रुपैयाँ नगदसहित पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा फैलिएको फोटो र सूचना भ्रामक रहेको पाइएको छ। निर्वाचनको मौन अवधिमा उम्मेदवार र पार्टीका जिम्मेवार नेतामाथि चरित्रहत्या गर्ने उद्देश्यले डिजिटल रूपमा सम्पादन गरिएको तस्बिर फैलाइएको पुष्टि भएको हो।

मंगलबार तनहुँका स्थानीय सञ्चारमाध्यमका नाममा सञ्चालित ‘सेतीमादी डेली’, ‘सेवा समर्पण नेपाल’ लगायतका फेसबुक पेज तथा केही व्यक्तिगत प्रयोगकर्ताले अधिकारी पैसाको थुप्रो अगाडि बसिरहेको जस्तो देखिने तस्बिर सार्वजनिक गर्दै उनी प्रहरी नियन्त्रणमा परेको दाबी गरेका थिए। उक्त पोस्ट केही घण्टामै हजारौँ पटक शेयर हुँदै व्यापक रूपमा भाइरल बनेको थियो।



तर टेकपाना फ्याक्टचेक डेस्कले तस्बिरको सूक्ष्म विश्लेषण गर्दा अधिकारीको अनुहार अर्कै व्यक्तिको शरीरमा जोडेर डिजिटल म्यानिपुलेसन गरिएको देखिएको जनाएको छ। नेपाल फ्याक्टचेकले पनि तथ्यजाँच गरी उक्त सामग्री मिथ्या रहेको पुष्टि गरिसकेको छ।

यसबीच रास्वपा गोरखा जिल्ला समितिले विज्ञप्ति जारी गर्दै मौन अवधिमा यस्ता भ्रामक सामग्री फैलाउनेमाथि तत्काल कारबाही गर्न माग गरेको छ। विज्ञप्तिमा मतदातालाई अफवाहबाट विचलित नहुन र निर्धक्क रूपमा मतदानमा सहभागी हुन आग्रह गरिएको छ। साथै साइबर कानुनअन्तर्गत दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।

गोरखा क्षेत्र नम्बर–१ का रास्वपा उम्मेदवार सुदन गुरुङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै एआईको सहाराले फोटो तोडमोड गरी चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन्। उनले फेक फोटो र नक्कली कथामार्फत चुनाव प्रभावित पार्ने प्रयास भएको आरोप लगाएका छन्।

भ्रामक सामग्री पोस्ट गर्ने ‘सेतीमादी डेली’ले हाल उक्त पोस्ट हटाइसकेको छ। उक्त पोस्टमा ११ हजारभन्दा बढी प्रतिक्रिया, १५ सयभन्दा बढी कमेन्ट र १४ सयभन्दा बढी शेयर भएका थिए। ‘सेवा समर्पण नेपाल’ पेजले पनि अन्य स्रोतबाट फोटो आएको भन्दै पोस्ट हटाएको जनाएको छ। यद्यपि सामग्री अझै केही प्रयोगकर्तामार्फत शेयर भइरहेको छ।

टेकपानासँग कुरा गर्दै उपसभापति अधिकारीले भाइरल फोटोमा देखिएको पृष्ठभूमि र सोफा आफ्नो घरको नभएको स्पष्ट पारेका छन्। उनले आफू पक्राउ परेको भनिएको समयमा घरमै परिवारसँग रहेको बताएका छन्।

अधिकारीका अनुसार फोटोमा प्रयोग गरिएको उनको अनुहार पुरानो तस्बिरबाट लिइएको हो। “त्यो फोटो मेरो बुबाको निधनको समयमा खिचिएको हो, जसमा म दुःखी देखिन्छु। त्यही फोटोबाट अनुहार निकालेर अर्कै शरीरमा जोडिएको रहेछ,” उनले भने।

आफ्नो चरित्रहत्या गर्ने प्रयास भएको भन्दै अधिकारीले जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दर्ता गरिसकेको जानकारी दिएका छन्। उनले साइबर कानुनअन्तर्गत दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय