नेकपा (एमाले) निकट नेसनल भोलेन्टियर फोर्सका संयोजक पुष्प श्रेष्ठले निर्वाचनको मौन अवधि सुरु भइसकेपछि पनि सामाजिक सञ्जालमार्फत चुनावी प्रचारप्रसारलाई निरन्तरता दिएको पाइएको छ। उनले विपक्षी दल तथा उम्मेदवारहरूको विरोध र आफ्नो पार्टी एमाले तथा उसका उम्मेदवारहरूको पक्षमा भोट माग्ने गतिविधि जारी राखेको देखिएको हो।
सोमबार १८ फागुन राति १२ बजेदेखि नै निर्वाचनको मौन अवधि सुरु भइसकेको छ। निर्वाचन आचारसंहिताअनुसार मतदान हुने दिनभन्दा अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भातृ संगठन वा सम्बन्धित व्यक्तिले कुनै पनि प्रकारको प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी गर्न पाउँदैनन्।
त्यसैगरी, मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, शेयर वा प्रतिक्रिया दिनसमेत निषेध गरिएको छ।
तर श्रेष्ठले भने उक्त प्रावधानविपरीत लगातार पोस्टहरू गरिरहेका छन्। मौन अवधि सुरु हुनुभन्दा ठीक अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमार्फत मतदातालाई अनुरोध गर्दै चुनाव प्रचारसम्बन्धी भिडियो अपलोड गरेका थिए। श्रेष्ठले सोही भिडियो मौन अवधि सुरु भएपछि मंगलबार बिहान ८ः१५ बजे आफ्नो फेसबुकबाट शेयर गरेका छन्।
लगत्तै बिहान ८ः२८ बजे उनले भक्तपुर क्षेत्र नम्बर–२ का एमाले उम्मेदवार महेश बस्नेतको प्रचारात्मक भिडियो शेयर गरेका छन्।
मंगलबार बिहान ९ः१३ बजे उनले एमालेका महासचिव तथा उम्मेदवार शंकर पोखरेलको भिडियो फेसबुकमा अपलोड गरेका छन् भने सोही भिडियो अर्का प्रयोगकर्ता त्रिभुवन बर्तौलाले पोस्ट गरेको सामग्री ९ः३० बजे पुनः शेयर गरेका छन्।
यसैगरी बिहान ९ः३८ बजे सिन्धुली क्षेत्र नम्बर–२ मा निकालिएको मोटरसाइकल र्यालीका तस्बिरहरू पोस्ट गरेका छन्।
त्यसपछि मंगलबार दिउँसो १२ः३८ बजे उनले रास्वपाका बालेन र रविको विरोध तथा केपी शर्मा ओलीको पक्षमा लेख्दै फेसबुक पोस्ट गरेका छन्। दिउँसो १ः५२ बजे उनले एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न सार्वजनिक रूपमा आह्वानसमेत गरेका छन्।
मंगलबार मात्रै होइन, बुधबारसमेत श्रेष्ठले आफ्नो पार्टीको पक्ष र अन्य दलको विपक्षमा चुनावी गतिविधि तथा प्रचारप्रसारसम्बन्धी पोस्टहरू निरन्तर गरिरहेको देखिएको छ।






