नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर जाँच गर्दा उनलाई सहित चार जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार उक्त गाडीबाट केही शंकास्पद वस्तु समेत फेला परेको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै घटनास्थल आसपासको क्षेत्रलाई तत्काल घेराबन्दी गरिएको प्रहरीले जनाएको छ।
यस विषयमा थप अनुसन्धान भइरहेको र आवश्यक प्रमाण संकलनपछि पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यता प्रतिनिधिसभा निर्वाचनको मुखैमा अर्को घटना पनि सार्वजनिक भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट सिरहा क्षेत्र नम्बर–३ का उम्मेदवार अशेश्वर यादव पनि पक्राउ परेका छन्। मौन अवधिका बेला नगद रकमसहित उनी पक्राउ परेको प्रहरीले जनाएको छ।






