सर्लाहीमा मतदातालाई रकम वितरण गर्दै गरेको आरोपमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा हरिपुर्वा नगरपालिका–२ निवासी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन्। उनलाई गएराति सोही स्थानमा मतदातालाई नगद रकम बाँड्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीले यादवको साथबाट २५ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ। निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रलोभन दिन रकम वितरण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्।
प्रहरीले निर्वाचनसम्बन्धी कुनै पनि गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई सचेत गराउँदै यस्ता कार्यमा संलग्न पाइएमा कडा कारबाही गरिने जनाएको छ।






