इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ। कतारको रक्षा मन्त्रालयले मंगलबार राति उक्त आक्रमण भएको पुष्टि गरेको हो।

कतारको राजधानी दोहाको दक्षिणपश्चिममा अवस्थित अल–उदैद एयर बेस मध्यपूर्वमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा मानिन्छ।



रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार इरानबाट दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो। तीमध्ये एउटा क्षेप्यास्त्रलाई कतारको हवाई प्रतिरक्षा प्रणालीले अवरोध गरेको र अर्को अल उदैद सैन्य अड्डा परिसरमा खसेको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार घटनाबाट कुनै मानवीय क्षति भएको छैन। भौतिक क्षति पुगेको छ वा छैन भन्नेबारे भने स्पष्ट जानकारी दिइएको छैन।

कतारी सशस्त्र बलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको र कुनै पनि बाह्य खतराको कडा जवाफ दिन तयार रहेको जनाएको छ। साथै नागरिक, विदेशी बासिन्दा तथा आगन्तुकलाई शान्त रहन, आधिकारिक सूचना मात्रै अनुसरण गर्न र हल्लाबाट टाढा रहन आग्रह गरिएको छ।

यसअघि मंगलबार नै मन्त्रालयले इरानी आक्रमण सुरु भएयता कतारको हवाई क्षेत्रतर्फ तीनवटा क्रुज क्षेप्यास्त्र, १०१ वटा ब्यालेस्टिक क्षेप्यास्त्र र ३९ वटा आत्मघाती ड्रोन आएको पत्ता लागेको जनाएको थियो। तीमध्ये सबै क्षेप्यास्त्र तथा २४ वटा ड्रोन अवरोध गरिएको दाबी गरिएको छ।

अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव तीव्र बनेको छ। त्यसयता इरानले अमेरिकी सैन्य अड्डा तथा अमेरिकी सैन्य सम्पत्ति रहेका खाडी मुलुकहरूलाई लक्षित गर्दै ड्रोन र क्षेप्यास्त्र आक्रमण जारी राखेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय