काठमाडौँ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ ले सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालयमा आगजनी तथा तोडफोडमा संलग्न १३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ।

गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनी र विध्वंशका घटनामा संलग्न व्यक्तिहरूविरुद्ध आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो। काठमाडौँ जिल्ला अदालत का सूचना अधिकारी दीपक अधिकारीका अनुसार अभियोगपत्र दर्ता भई कानुनी प्रक्रिया अघि बढाइएको छ।



सर्वोच्च अदालतमा आगजनी

सर्वोच्च अदालत मा आगजनी गरेको अभियोगमा सुनिल श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर गरिएको छ। अभियोगपत्रमा उनीहरूले आगजनीबाट एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको उल्लेख छ।

सिंहदरबार र प्रहरी कार्यालयमा तोडफोड

सिंहदरबार परिसरमा तोडफोड तथा आगजनी गरेको आरोपमा आशिष गुरुङविरुद्ध मुद्दा चलाइएको छ।

यस्तै प्रहरी वृत्त बौद्धमा क्षति पुर्‍याएको अभियोगमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध पनि मुद्दा दायर गरिएको छ। प्रहरी प्रभाग बलम्बुमा तोडफोड गरेको आरोपमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध अभियोजन गरिएको छ।

सर्वोच्च अदालत प्रशासनले घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान पूरा गरी अभियोजन अघि बढाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय