मलंगवा। सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको अचानक निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाही का अनुसार रौतहट निवासी ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतो मतदान केन्द्रमै कार्यरत अवस्थामा अकस्मात् बेहोस भई ढलेका थिए। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।



मलंगवास्थित प्रादेशिक अस्पतालमा पुर्‍याइएको करिब आधा घण्टापछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। निर्वाचन ड्युटीकै क्रममा भएको घटनाले स्थानीय प्रशासन तथा निर्वाचनमा खटिएका कर्मचारीहरू स्तब्ध बनेका छन्।

महतो रौतहटको माधवनारायण नगरपालिका–६ का स्थायी बासिन्दा हुन्। उनी सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबका रूपमा कार्यरत थिए। स्वास्थ्य सेवामा सक्रिय रहँदै निर्वाचनको जिम्मेवारी सम्हालेका महतोको अकस्मात् निधनले सहकर्मी र परिवारजन शोकाकुल भएका छन्।

घटनाबारे प्रारम्भिक जानकारी प्रादेशिक अस्पतालबाट प्राप्त भएको प्रहरीले जनाएको छ। जिगडवा मतदान केन्द्र जिल्ला प्रशासन कार्यालयबाट करिब १० किलोमिटर पूर्वमा पर्छ।

मृत्युको यकिन कारण खुल्न बाँकी रहेको र पोष्टमार्टम प्रतिवेदनपछि मात्र वास्तविक कारण सार्वजनिक हुने चिकित्सकहरूले बताएका छन्। महतोको शव प्रादेशिक अस्पतालमै राखिएको छ भने परिवारलाई घटनाबारे जानकारी गराइसकिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय