रामेछाप। रामेछाप नगरपालिका–२ स्थित सिरुवारीमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ।
दुर्घटनामा नेपाल प्रहरी का सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोरप्रसाद घिमिरेको निधन भएको हो।
सोमबार ना.७ ख ६७६८ नम्बरको गाडी सडकबाट करिब एक सय मिटर तल खस्दा नौ जना घाइते भएका थिए। घाइतेमध्ये सात जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बोकेर उक्त गाडी सिरुवारीस्थित सितलदेवी माध्यमिक विद्यालय तथा रामेछाप नगरपालिका–३ को वडा कार्यालय भवनतर्फ जाँदै थियो। मतदानस्थल नपुग्दै दुर्घटना हुँदा शोकपूर्ण अवस्था सिर्जना भएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार सडकको मोडमा नियन्त्रण गुमाउँदा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। प्रहरी निरीक्षक कमल राउतको नेतृत्वमा पुगेको टोली तथा सशस्त्र प्रहरीको विपद् उद्धार आधार खुर्कोटको टोलीले घाइतेहरूको उद्धार गरी मन्थली पठाएको थियो। त्यहाँबाट सेनाको हेलिकप्टरले काठमाडौँ ल्याएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी मन्थली नगरपालिका–७ भटौलीस्थित श्रुद्रक्षेश्वर माध्यमिक विद्यालयका शिक्षकसमेत हुन्।





