मध्यपूर्वमा चर्किएको द्वन्द्वबारे दुई दिनअघि सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरेका गोरखा जिल्लाका २९ वर्षीय दिवस श्रेष्ठ अन्ततः सोही द्वन्द्वको शिकार बनेका छन्।
अबुधाबीका बासिन्दाका रूपमा त्यहाँको अवस्थाबारे आफूलाई जानकारी रहेको उल्लेख गर्दै उनले लेखेका थिए, “समाचार हेरेपछि मेरो ध्यानाकर्षण भयो। केही विवरणहरू बढाइचढाइ गरिएका छन्।” तर विडम्बना, त्यही अभिव्यक्ति उनको जीवनको अन्तिम सन्देश बन्यो। इरानबाट प्रक्षेपित ड्रोन आक्रमणमा परेर उनको निधन भएको पुष्टि भएको छ।
अबुधाबीस्थित नेपाली राजदूतावास ले सोमबार जारी गरेको सूचनामा अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा सुरक्षा गार्डका रूपमा कार्यरत नेपाली नागरिक दिवस श्रेष्ठको दुःखद निधन भएको उल्लेख गरेको छ। उक्त जानकारी संयुक्त अरब इमिरेट्सको परराष्ट्र मन्त्रालयबाट आधिकारिक रूपमा प्राप्त भएको जनाइएको छ।
सामान्य परिवारबाट वैदेशिक यात्रासम्म
गोरखाको भीमसेन थापा गाउँपालिका–७ ठाटीबजार स्थायी घर भएका दिवस काठमाडौँमा प्राविधिक अध्ययन गरिरहेका थिए। सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका उनी तीन वर्षअघि वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स पुगेका थिए।
गत असोजमा घर फर्किएर परिवारसँग चाडपर्व मनाएका दिवसले अर्को बिदामा आएर विवाह गर्ने योजना सुनाएका थिए। तर त्यो योजना अधुरै रह्यो।
अन्तिम संवाद नै विदाइ
मध्यपूर्वमा तनाव बढेसँगै परिवार चिन्तित थियो। शनिबार साँझ उनका बुवा चामबहादुर श्रेष्ठसँग फोनमा कुराकानी भएको थियो। त्यसपछि सम्पर्क हुन सकेन।
“घुँडामा चोट लागेको छ भनेर साथीहरूले भनेका थिए,” बुवाले भावुक हुँदै सुनाए, “तर आज यस्तो खबर आयो।”
दिवसका काकाको छोरा सचिन श्रेष्ठका अनुसार उनी अत्यन्त मिलनसार, सहयोगी र सरल स्वभावका थिए। “एकदमै सोझो हुनुहुन्थ्यो,” उनले भने, “आज यस्तो भयो, के भन्ने खै।”
गाउँ नै शोकमा
चामबहादुरका एक्ला छोरा थिए दिवस। दुई सन्तानमध्ये छोरीको विवाह भइसकेको छ। सुत्केरी छोरीको स्याहारका लागि उनकी आमा काठमाडौँमा रहेकी छन्। घरमा अहिले बुवा र हजुरआमा मात्र छन्।





