काठमाडौं। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापा–५ र सर्लाही–४ लाई ‘अति संवेदनशील’ क्षेत्रका रूपमा चिन्हित गरिएको छ। प्रमुख दलका प्रभावशाली उम्मेदवारबीचको प्रतिस्पर्धाका कारण यी दुई क्षेत्रमा सुरक्षा चुनौती बढेको विश्लेषणसहित विशेष सुरक्षा रणनीति लागू गरिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार सम्भावित जोखिम मूल्याङ्कनपछि अतिरिक्त प्रहरी बल परिचालन गरिएको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मातहतका निकायलाई उच्च सतर्कता अपनाउन स्पष्ट निर्देशन दिएका छन्।
झापामा ७७८ प्रहरी, सर्लाहीमा ७९२ प्रहरी परिचालन
झापा–५ मा २२ जना वरिष्ठ प्रहरी अधिकृतसहित कुल ७७८ जना प्रहरी खटाइएको छ। सर्लाही–४ मा २५ जना वरिष्ठ प्रहरी अधिकृत, ११९ जना कनिष्ठ अधिकृत र ६४८ जना अन्य दर्जाका प्रहरी गरी ७९२ जना परिचालन गरिएको छ।
यसका अतिरिक्त निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली समेत बहुस्तरीय सुरक्षा घेरामा खटिएको छ।
सादा पोशाकमा निगरानी, मौन अवधिमा विशेष ध्यान
दुवै क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरी सूचना सङ्कलन तीव्र पारिएको छ। उम्मेदवारहरूको गतिविधि, सम्भावित चलखेल र मौन अवधिमा हुन सक्ने आचारसंहिता उल्लङ्घनलाई विशेष निगरानीमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार कुनै अप्रिय घटना हुन नदिन पूर्वतयारी स्वरूप सुरक्षा संयन्त्र सक्रिय पारिएको हो। निष्पक्ष, शान्त र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा निकाय पूर्ण तयारीमा रहेको जनाइएको छ।






