सल्यान। राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डा राखेर प्रचारमा हिँडेको जिपबाट प्रहरीले चामल, खानेतेल र मदिरा बरामद गरी दुई जनालाई नियन्त्रणमा लिएपछि पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ।

सल्यानको बन्गाड कुपिन्डे नगरपालिका–१ सल्लीबजारबाट कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिप नियन्त्रणमा लिइएको थियो। जिपका चालक सिद्धकुमाख गाउँपालिका–४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सँगै रहेका ३७ वर्षीय मोहन बीसीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।



चालक बुढाथोकीले उक्त सामान बिसीको रहेको र उनले त्यो सामान बनगाड कुपिन्डे–५ खैरागार तर्फ लैजान भनेको हुँदा आफूले राखिदिएको बयान दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिपबाट २५ केजीका दुई बोरा चामल, सात कार्टुन मदिरा, दुई कार्टुन बियर र तीन कार्टुन खानेतेल बरामद गरिएको थियो।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति लोकेन्द्र ओलीले जिपमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको रहेको दाबी गरेका छन्। “प्रचारमा हिँडेको गाडीमा व्यापारीले आफ्नो सामान राखेका हुन्, यसलाई निर्वाचनसँग जोड्नु उचित होइन,” उनले भने।

उनका अनुसार गाडी प्रचार प्रयोजनका लागि प्रयोग भइरहेको भए पनि बरामद सामग्री पार्टीको नभई स्थानीयको व्यापारिक सामान हो। पार्टीले घटनाबारे सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय