गौरवशाली गणतन्त्र नेपालको सम्माननीय भावी-प्रधानमन्त्रीज्यू तथा भावी मन्त्रिपरिषद्का माननीय सदस्यज्यूहरू, सादर प्रणाम!

हामीलाई “नेपाल” भन्ने पवित्र राष्ट्रको परिचय र “नेपाली” भन्ने गौरवपूर्ण पहिचान सहजै प्राप्त भएको होइन। यो पहिचान अनगिन्ती महान् व्यक्तित्वहरूको त्याग, समर्पण र हजारौँ अमर शहीदहरूको रगतले सिँचित बलिदानको परिणाम हो। यही बलिदानको उज्यालो इतिहासले आज हामीलाई स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय गौरवका साथ उभिन सक्ने शक्ति दिएको छ।



आज हामीले सास फेरिरहेको स्वतन्त्रताको हावा, बोलिरहेको लोकतन्त्रको आवाज र अगाडि बढिरहेको गणतन्त्रको यात्रामा ती अमर शहीदहरूको सपना, आशा र समर्पणको धड्कन गुञ्जिरहेको छ। हामीलाई पूज्य पुर्खाहरूले छोडेको ज्ञान, संस्कार र संस्कृति छ। त्यसैले, उनीहरूको त्याग केवल इतिहासको पाना होइन-यो हाम्रो वर्तमानको आधार र भविष्यको मार्गदर्शक प्रकाश हो।

त्यही अमर बलिदानप्रति गहिरो सम्मान प्रकट गर्दै, उनीहरूको प्रेरणादायी स्वरलाई मैले सिर्जना गरेको यो कविता
“शहीदको ध्वनि” मार्फत सम्माननीय भावी-प्रधानमन्त्रीज्यू तथा यहाँको सम्पूर्ण मन्त्रिमण्डलसमक्ष हृदयदेखि समर्पण गर्न चाहन्छु।

सम्माननीय भावी-प्रधानमन्त्रीज्यूको सबल नेतृत्व नेपाली जनता, नेपाली जाति, नेपाल र विश्व हेर्नको लागि आतुर छन्। यो केवल एउटा कविता मात्र होइन, यो मातृभूमि प्रतिको माया, कृतज्ञता र उज्यालो नेपालको सपनाले भरिएको एउटा विनम्र अभिव्यक्ति हो, भविष्यप्रतिको आशाको स्वर हो।

म हार्दिक विश्वासका साथ अनुरोध गर्दछु-यहाँहरूले यसलाई पढेर, श्रवण गरेर, यसको भावनालाई अनुभूति गरिदिनुहुनेछ।
यहाँको सक्षम, दूरदर्शी र जिम्मेवार नेतृत्वबाट “नयाँ नेपाल” को उज्यालो बिहान प्रारम्भ होस् जहाँ शान्ति, समृद्धि, सुशासन, न्याय र राष्ट्रिय एकताको दीप सधैँ बलिरहोस् भन्ने शुभेच्छा र विनम्र प्रार्थना व्यक्त गर्दछु।

अन्ततः यही कामना छ
सबैको जय होस्।
नेपालको सदा कल्याण होस्।

अमेरिकाबाट – कवि कवीन्द्र सिटौला

सहिद ध्वनि – उठ नेपाल

हे..हे….
हे वीर नेपाली जाति
हे ज्ञान, करुणा र विवेकका आलोक बोकेका सन्तान
हे स्वाभिमान र सत्यका शान्ति ध्वनि आत्माहरू
उज्यालो भविष्यका धनी नेपालीहरू

श्रद्धा र चेतनाले प्रकाशमान मनहरू
सुन… यो समयको पुकार हो
सुन… यो इतिहासको गर्जन हो

म तिम्रो गौरवशाली राष्ट्रको दिव्य चेतना हुँ
म तिम्रो स्वाधीनताको श्वास हुँ
म तिम्रो वीरताको स्वर हुँ
स्वाभिमानको अमर गर्जन हुँ !

म तिम्रो पहिचान हुँ
तिम्रो आत्मा र सम्मानको स्पन्दन हुँ
म सुख, शान्ति र समृद्धिको आधार हुँ
म ज्ञान हुँ, ध्यान हुँ, परमानन्द हुँ!

म… तिमीसँगै छु;
हिमाल, पहाड, तराईका कण-कणमा
सगरमाथाको शिखरमा प्रभात बनेर
फाँटमा उर्वरता बनेर
उकाली-ओरालीमा साहस बनेर

ज्ञानको सूर्यकिरण बनेर
बगिरहेको छु
शान्तिको पवित्र पवन बनेर

उठ! बिउँझ!
यो सहिदको ध्वनि हो

तिम्रो आत्मामा नेपाल बोलिरहेको छ
देश बाँचेर नमार
स्वाभिमान बाँचेर नमार

उठ!
बिउँझ!
हामी मरेर अमर भयौँ
तिमी बाँचेर नमर !

चन्द्र-सूर्य अंकित त्यो अद्वितीय झण्डा
वीरता र स्वाभिमानको प्रतीक
त्यही झण्डाले विश्वमा अमर बनाएको छ
त्यही झण्डाले इतिहास बोकेको छ

कहिले सीमा भएर उभिएको छ ऊ
कहिले जङ्गे पिलर भएर ठडिएको छ ऊ
कहिले नदी भएर बगेको छ ऊ
कहिले प्रहरी, सैनिक, पहरेदार आत्मा बनेको छ ऊ

चौबिसै घण्टा जागिरहेको छ ऊ
विजयको सम्मान बटुलिरहेको छ ऊ !

तिमी बलिदानको आवाज हौ
त्याग र साहसको घण्टी हौ
परिवर्तनको आँधी, अदम्य वेग हौ
रगतले लेखिएको अमर शपथ हौ

उनीहरूको बलिदान हिमालयको सुगन्ध हो
उनीहरूको बलिदान तिम्रो मुटुको धड्कन हो
उनीहरूको बलिदान भविष्यको उज्यालो हो !

यदि स्वार्थको बाटो हिँड्यौ भने
सुन्दर नेपाल बाँचेर पनि मर्न सक्छ
त्यसैले
तिमी नै जागरण हौ
तिमी नै समर्पण हौ
तिमी नै क्रान्ति हौ;
ज्ञानको क्रान्ति
विज्ञानको क्रान्ति
समृद्धिको क्रान्ति
एकताको क्रान्ति
स्वाधीनताको क्रान्ति
प्रेम र करुणाको क्रान्ति
सद्भाव र शान्तिको क्रान्ति

उठ! बिउँझ!
यो सहिदको ध्वनि हो

तिमी हामीले खोजेको परिवर्तन बन
तिमी सहिदहरूले देखेको भविष्य बन
तिमी सपनाको नेपाल बन

धरतीले तिमीलाई खोजिरहेको छ
आत्माले तिमीलाई बोलाइरहेको छ

उठ नेपाल
उठ नेपाली
उठ हे नेपाली
उठ! उठ नेपाली..
उठ नेपाल
उठ नेपाली…
सहिदको ध्वनि…
सदाका लागि…

आदरणीय नेपाली जनतालाई अमर शहीदहरूको सपना साकार पार्दै राष्ट्रको उज्यालो भविष्य निर्माण गर्न सक्षम दलबाट सक्षम प्रधानमन्त्री चयन गर्ने ऐतिहासिक जिम्मेवारी सफलतापूर्वक निभाउन हार्दिक शुभकामना;

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय