काठमाडौं। २०४८ सालदेखि निरन्तर निर्वाचन जित्दै आएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका लागि यसपटकको राजनीतिक अवस्था जटिल बनेको चर्चा कांग्रेस वृत्तमा भइरहेको छ।

पार्टीभित्र नेतृत्व परिवर्तन भएपछि उनी निर्णायक भूमिकाबाट बाहिरिएको विश्लेषण भइरहेको छ। सभापति पदबाट हटाइएपछि टिकट वितरण प्रक्रियामा पनि उनको प्रभाव कमजोर भएको बताइन्छ। यसबीच उनी बुधबार राति ११ः३० बजेको उडानबाट सिंगापुर प्रस्थान गरेका छन्।



कांग्रेसका एक उच्च स्रोतका अनुसार देउवासँगै उनका स्वकीय सचिव तथा भतिज भानु देउवा पनि विदेश गएका छन्। उनकी पत्नी आरजू राणा देउवा यसअघि नै भारत गएकी थिइन्। परिवारका अन्य सदस्यहरू पनि देशबाहिर रहेको चर्चा कांग्रेस वृत्तमा चलिरहेको छ।

देउवाका अर्का भतिज प्रकाश देउवा अमेरिका रहेका छन् भने उनका छोरा जयवीर देउवा पनि विदेशमै रहेको बताइएको छ। कांग्रेसका केही पुराना नेताहरूका अनुसार यसअघि कुनै पनि निर्वाचनका बेला देउवा परिवार यसरी एकैपटक देशबाहिर गएको इतिहास छैन।

यसपटक देउवाले अन्तिम पटक निर्वाचन लड्ने इच्छा व्यक्त गरे पनि टिकट नपाएको चर्चा छ। विशेष महाधिवेशनपछि उनी निकट मानिएका केही नेताहरू पनि अवसरबाट वञ्चित भएका थिए। त्यसपछि उनी पार्टी गतिविधिबाट क्रमशः टाढिँदै गएको भनाइ कांग्रेस वृत्तमा सुनिन्छ।

देउवा पक्षले भने पार्टी नेतृत्वसँग पर्याप्त संवाद नभएको गुनासो गर्दै आएको छ। निर्वाचनअघि उनी विदेश जानुलाई कतिपयले राजनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् भने केही नेताहरूले उपचार तथा व्यक्तिगत कारण देखाएका छन्।

कांग्रेसका निवर्तमान मुख्यसचिव तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले देउवाले कार्यकर्तालाई पार्टीलाई जिताउन सक्रिय हुन निर्देशन दिइरहेको बताएका छन्।

यद्यपि कांग्रेसभित्र अहिले नेतृत्व परिवर्तनपछि देउवाको भूमिका कस्तो रहने भन्ने विषयमा चासो बढेको छ। दशकौँदेखि स्थापित शक्ति सन्तुलनमा परिवर्तन आएको संकेतका रूपमा यस घटनालाई हेरिएको छ। आगामी निर्वाचन परिणाम र त्यसपछिको राजनीतिक समीकरणले देउवाको आगामी भूमिका स्पष्ट पार्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय