ललितपुर – नेकपा (एमाले) का प्रदेश समिति सदस्य कर्ण बहादुर मल्लविरुद्ध बलात्कार सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ।
मुगु घर भएका मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी हुन्। बालकुमारीस्थित एक होटलमा आफूलाई मल्लले बलात्कार गरेको पीडितको आरोप छ।
पीडित पक्षले सुरुमा जाहेरी दर्ता गर्न प्रहरीले आनाकानी गरेको आरोप लगाउँदै बिहीबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनसमेत गरेको थियो।
तर जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटी ले भने जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। उनका अनुसार बिदाका कारण प्रारम्भिक प्रक्रिया बुझ्न र दर्ता गर्न केही समय लागेको हो।
एसएसपी बोगटीका अनुसार पीडितले सुरुमा भ्रूणहत्या सम्बन्धी जाहेरी ल्याएको र पछि बलात्कार सम्बन्धी जाहेरी दर्ता गराएकी थिइन्।
मल्ल मुगुको सोरु गाउँ कमिटी इन्चार्जसमेत रहेको बताइएको छ। पीडित महिला कालिकोटकी स्थानीय हुन्। उनले आरोपितलाई तत्काल पक्राउ गर्न माग गरेकी छन्।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।






