आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा-५ सर्वाधिक चासोको विषय बनेको छ। १६५ निर्वाचन क्षेत्रमध्ये झापा-५ सर्वाधिक चासोको विषय बन्नुका पछाडि केही कारण छन्।

मुख्य कारण त एमालेबाट भावी प्रधानमन्त्रीका उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन साहबीचको प्रतिस्पर्धा हो।



यी दुई पात्र ‘जेन-जी’ आन्दोलनपछिको परिवर्तित राजनीतिमा विपरीत ध्रुवमा देखिएका छन्। ‘जेन-जी’ आन्दोलनको बलमा एमाले अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्री पदबाट अपदस्त भएका थिए। त्यही ‘जेन-जी’ आन्दोलनका अगुवामध्येका बालेन साह एक मानिन्छन्।

‘जेन-जी’ आन्दोलनको पक्षधर र विरोधीबीच हारजित हुने भएकाले पनि झापा-५ चर्चामा रहेको कतिपयको जिकिर छ। यद्यपि, तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले आफू ‘जेन-जी’ आन्दोलनको विरोधी नभएको पटक-पटक स्पष्टीकरण दिइसकेका छन्।

झापा-५ भनेपछि सबैको मनमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको क्षेत्रको प्रतिविम्ब आउँछ । तर, झापा-५ कै स्थानीय मतदाता भने यतिबेला मत स्थिर राख्ने कि बदल्ने भन्ने छलफलमा सामेल हुन थालेका छन्।

ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेर मैदानमा आएका काठमाडौंका निवर्तमान मेयर बालेन साहको लोकप्रियताले यसपटक झापा-५ को चुनावी परिणामबारे अनुमान गर्न सकिने अवस्था छैन।

२०६४ सालमा भएको संविधान सभाको चुनावबाहेक ओली यो क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका छन्। महानगरको मेयरबाट राजीनामा दिएर रास्वपासँग एकता गरेपछि बालेनको लोकप्रियता बढेको छ। देश दौडाहका क्रममा मुलुकका विभिन्न स्थानमा बालेनप्रति निकै ‘क्रेज’ देखिएको छ।

यता, देशव्यापी बालेनको क्रेजले प्रतिस्पर्धी ओलीलाई झस्काएको छ। विगतका चुनावमा बढीमा दुई/तीनपटक मात्र निर्वाचन क्षेत्रमा जाने गरेका ओली यसपटक भने निरन्तर झापा-५ मा धाइरहेका छन्।

झापा-५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले यसपटक आफ्नो विगतको चुनावी रणनीति बदलेका छन्। यसअघिका निर्वाचनमा केही र निश्चित स्थानमा सभा र मतदाता भेटघाट गरेर चुनाव जित्दै आएका उनले यसपटक भने आफ्नो चुनावी रणनीति बदल्दै सबै मतादातासँग प्रत्यक्ष संवाद र भेटघाट गर्ने रणनीति अपनाइका छन्।

बदलिएको चुनावी रणनीतिअन्तर्गत ओली सकभर आफैँ मतदाताका घर र टोलमा पुग्ने र गुनासा सुन्ने योजना छ। आफू पुग्न नसकेका मतदाताका घरमा निकटका कार्यकर्ता खटाएर उनीहरूका गुनासा सुन्ने र टिपोट गर्न पनि लगाएका छन्।

बालेनको बढ्दोड क्रेजसँगै झापामा चुनाव जित्न कठिन हुने विश्लेषण भइरहेका बेला ओलीले आफ्नो पुरानो रणनीति बदलेर आफैं मतदातामाझ पुग्ने रणनीति अपनाएका हुन्।

प्रतिस्पर्धी साह दुई चरणमा झापा पुगेर त्यहाँका मतदातासँगको भेटघाटपछि अन्य क्षेत्रमा समेत ‘रोड सो’ मा लागिरहेका बेला ओलीले भने मतदाताको घरदैलो नै रोजेका छन्। माघ ६ मा उम्मेदवारी दर्ता गरेयता ओली प्राय झापामै रहेका छन्।

उम्मेदवारी दर्ता गरेर काठमाडौं फर्किएका ओली अहिलेसम्म तीनपटक झापा पुगिसकेका छन्। माघ अन्तिम साता झापामा रहँदा ओली झापा ५ का विभिन्न स्थानमा पुगेर मत माग्नुका साथै मतादाताका समस्या सुन्ने काम गरेका थिए। एक साता मतदातामाझ बिताएका ओली केही दिनका लागि काठमाडौं बसेर आइतबार पुन झापा पुगेका छन्।

गत माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँ घुमेर ओली काठमाडौं फर्किएका थिए। झापा ओर्लेलगत्तै आइतबार ओलीले शिक्षक भेला, धिमाल जातिको भेला तथा मुस्लिम समुदायका नागरिकसँगको भेलामा सहभागिता जनाएका छन्।

एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै बस्ने छन्। यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका छ।

झापा ५ को निर्वाचन क्षेत्र अन्तर्गतका २९ वटा वडाका सबै टोलमा पर्ने प्रत्येक घरमा पुगेर मतदातालाई निर्वाचनमा भाग लिन तथा नेकपा एमालेका उम्मेदवार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विजयी गराउनसमेत आग्रह गरिएको छ।

२०७९ सालको निर्वाचनमा झापा-५ मा एक लाख ५४ हजार २८९ मतदाता रहेका थिए। यसपटक मतदाता संख्या बढेर एक लाख ६३ हजार ३७९ पुगेको छ। झापा-५ मा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाको वडा १-८ र गौरीगञ्ज गाउँपालिकाको ३-६ वडा समेटिएको छ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पनि आसन्न प्रतिनिधिसभा चुनावमा बंगलादेशको जस्तै चुनावी परिणाम आउने दाबी गरेका छन्। आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले नेपालको चुनावलाई बंगलादेशसँग तुलना गरेका हुन्।

बंगलादेशमा आन्दोलनबाट आएको दलले ६ सिट मात्रै जितेको थियो। चुनावमा प्रतिस्पर्धा गरेका पुरानै दल बलियो भएर आएका छन्। विमानस्थलमा सञ्चारकर्मीले नेपालको चुनावी परिणाम कस्तो होला ? भनेर सोधेको प्रश्नमा ओलीले भने, ‘बंगलादेशमा भर्खरै भएको निर्वाचनको परिणाम आएको छ। विजयी राजनीतिक दललाई बधाई तथा शुभकामना । नेपालमा पनि हुने नै त्यही हो नि।’

अध्यक्ष ओलीले फागुन २१ गतेपछि देशको राजनीतिक परिस्थितिमा नयाँ मोड आउने बताए। आइतबार गृहजिल्ला झापामा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले आफू र आफ्नो पार्टीविरुद्ध सक्रिय रहेको भन्दै आएका प्रतिक्रियावादी शक्तिहरूलाई समय आएपछि तह लगाइने चेतावनी दिएका हुन्।

विपक्षी दल र सरकारका गतिविधिप्रति आक्रामक टिप्पणी गरेका ओलीले एमालेविरुद्ध घेराबन्दीको प्रयास भइरहेको आरोप लगाए। यद्यपि, आफ्नो पार्टी अहिले प्रतिवादभन्दा काममा केन्द्रित रहेको उनले स्पष्ट पारे। अध्यक्ष ओलीले फागुन २१ पछि ती सबै प्रश्न, भ्रम र षड्यन्त्रको ठोस जवाफ दिने दाबी गरे।

हिमालय टाइम्स दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय