काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नागरिक करार’ सार्वजनिक गर्दै आगामी पाँच वर्षभित्र गर्ने प्रमुख कामहरूको खाका सार्वजनिक गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विजयी भएको खण्डमा कार्यान्वयन गरिने योजनासहित करार सार्वजनिक गरिएको हो। करारपत्रमा भनिएको छ, “ती कामहरू नभएको खण्डमा अर्को पटकको निर्वाचन सजाय दिई असुल उपर गर्नुहोला।”



पहिलो प्राथमिकता: भ्रष्टाचार नियन्त्रण र सुशासन

रास्वपाले बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, सुधारिएको प्रदेश संरचना र पारदर्शी शासनप्रति प्रतिबद्धता जनाएको छ।

‘भ्रष्टाचार विरोधी महाअभियान’ सञ्चालन गर्दै नीतिगत, आचरणगत र संस्थागत सुधारमार्फत विश्वासयोग्य राज्य निर्माण गर्ने लक्ष्य अघि सारिएको छ। २०८६ सम्म भ्रष्टाचार सूचकांकमा उल्लेख्य सुधार गर्ने, सरकारी सेवाको डिजिटल डेलिभरी विस्तार गर्ने तथा लाइसेन्सलगायत सेवामा हुने बिचौलिया नियन्त्रण गर्ने प्रतिबद्धता गरिएको छ।

दोस्रो प्राथमिकता: मध्यम वर्ग विस्तार र आर्थिक उन्नति

पार्टीले औसत वार्षिक प्रतिव्यक्ति आय ३,००० डलरभन्दा माथि पुर्‍याउने, कुल गार्हस्थ उत्पादन (GDP) १०० अर्ब डलर नाघ्ने बनाउने लक्ष्य राखेको छ।

गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार, सार्वजनिक शिक्षामा सुधार, ‘एकीकृत सामाजिक सुरक्षा’को अवधारणा कार्यान्वयन र आधुनिक वित्तीय सेवामा सर्वसाधारणको पहुँच बढाउने योजना पनि करारमा समेटिएको छ।

तेस्रो प्राथमिकता: रोजगार र उत्पादन

रोजगार सिर्जनालाई तेस्रो प्राथमिकतामा राख्दै पाँच वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य प्रस्तुत गरिएको छ। वैदेशिक पलायन घटाउने, औपचारिक तथा सुरक्षित रोजगारी विस्तार गर्ने उल्लेख छ।

आईटी, निर्माण, पर्यटन, कृषि, उद्योग र सेवा क्षेत्रलाई प्राथमिकतामा राखिने जनाइएको छ।

पूर्वाधार र ऊर्जा

पाँच वर्षभित्र १५ हजार मेगावाट विद्युत् जडान क्षमता पुर्‍याउने र ३० हजार किलोमिटर सडक सञ्जाल विस्तार गर्ने लक्ष्य पार्टीले सार्वजनिक गरेको छ।

प्रवासी नेपालीका लागि योजना

प्रवासमा रहेका नेपालीका लागि अनलाइन नागरिक सेवा विस्तार, दोहोरो नागरिकतासम्बन्धी बहस र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता पनि करारमा समेटिएको छ।

करारको अन्त्यमा रास्वपाले स्पष्ट बहुमत प्राप्त गरे पनि पाँच वर्षभित्र उल्लेखित लक्ष्य हासिल गर्न नसके मतदातासमक्ष राजनीतिक दायित्व स्वीकार गर्ने उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय