मलंगवा – अज्ञात समूहको गोली प्रहारबाट मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत इञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको छ।
३६ वर्षीय यादवमाथि आइतबार साँझ करिब ७:५० बजे गोली चलाइएको प्रहरीले जनाएको छ। उनी सुखिपुर गाउँपालिका–३ वैशाखाका स्थायी बासिन्दा हुन् र पछिल्लो एक वर्षदेखि मलंगवामा डेरामा बस्दै आएका थिए।
परिवार स्रोतका अनुसार अज्ञात व्यक्तिले फोन गरेर उनलाई घर बाहिर बोलाएको थियो। बाहिर निस्कनेबित्तिकै उनीमाथि गोली प्रहार गरिएको बताइएको छ। प्रहरीका अनुसार उनको शरीरमा एक गोली लागेको थियो।
गोली लागेर ढलेका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ। हत्याको कारण र संलग्न व्यक्तिको पहिचानका लागि खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।






