काठमाडौँ – सेना दिवस २०८२ को अवसरमा आइतबार राजधानीको टुँडिखेलमा आयोजित विशेष समारोहमा अमेरिकी सैनिक ब्यान्डले दिएको प्रस्तुति सामाजिक सञ्जालमा भाइरल बनेको छ।
भिडिओ भाइरल भएसँगै कतिपय प्रयोगकर्ताले ‘विदेशी सेना नेपाल छिर्यो’, ‘स्वाधीनता लुटियो’, ‘नेपाल युक्रेन बन्ने बाटोमा’ जस्ता दाबी गर्दै त्रास फैलाउने प्रयास गरेका छन्। तर, तथ्य जाँचमा ती दाबी भ्रामक देखिएका छन्।
के हो दाबी?
‘Naresh Ayer’, ‘Arunima Sah’, ‘अरुण नेपाली लुइँटेल’, ‘Bikash Jung Basnet’ लगायतका फेसबुक प्रयोगकर्ताले अमेरिकी सेनाले परेड खेलेको भिडिओ शेयर गर्दै यसलाई विदेशी हस्तक्षेपसँग जोड्ने प्रयास गरेका छन्।
केही पोस्टमा गगन थापाको एमसीसीसम्बन्धी संसद् भाषण जोडिएको छ भने कतिपयमा बालेन्द्र शाह (बालेन) को तस्वीर राखी ‘नेपाल युक्रेन बन्ने’ आशय व्यक्त गरिएको छ।
Onlinetvnepal र Smart Mediaले पनि अमेरिकी ब्यान्डको प्रस्तुति सन्दर्भबिनै पोस्ट गरेका थिए, जसमा हजारौँ प्रतिक्रिया र सेयर आएका छन्।
अनुसन्धान के भन्छ?
टेकपाना फ्याक्टचेक डेस्कले अवकाशप्राप्त मेजर जनरल बिनोज बस्न्यातसँग कुराकानी गरेको थियो। उनका अनुसार सेना दिवसका अवसरमा मित्र राष्ट्रका सैनिक ब्यान्ड सहभागी हुनु सामान्य कूटनीतिक अभ्यास हो।
उनले भने, “अमेरिकी, बेलायती, भारतीय सेना यसअघि पनि सहभागी भइसकेका छन्। यसलाई हस्तक्षेप भन्नु गलत व्याख्या हो।”
यसअघि पनि भारतीय दूतावास काठमाडौंले सार्वजनिक गरेको पोस्टमा २०२५ को सेना दिवसमा भारतीय ब्यान्डको सहभागिता उल्लेख छ।
त्यस्तै, नेपाल टेलिभिजनको युट्युब अभिलेखअनुसार २०७९, २०८० र २०८१ सालका सेना दिवस समारोहमा अमेरिका, बेलायत र भारतका सैनिक ब्यान्डले प्रस्तुति दिएका छन्।
नेपाली सेनाले १५ फेब्रुअरी २०२६ मा जारी गरेको प्रेस विज्ञप्तिमा पनि मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्यान्ड टोलीले साङ्गीतिक प्रस्तुति दिएको स्पष्ट उल्लेख छ।
तथ्य जाँच
दाबी: सेना दिवसमा अमेरिकी सेनाले परेड खेलेर ‘विदेशी हस्तक्षेप’ सुरु भयो।
दावीकर्ता: विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता र फेसबुक पेजहरू।
तथ्य: सेना दिवसमा मित्र राष्ट्रका सैनिक ब्यान्डले साङ्गीतिक प्रस्तुति दिनु विगतदेखि चलिआएको नियमित कूटनीतिक अभ्यास हो।
निष्कर्ष: ❌ भ्रामक।
सेना दिवसमा विदेशी ब्यान्डको सहभागितालाई ‘देश कब्जा गर्न आएको’ वा ‘स्वाधीनता लुटिएको’ भनेर प्रस्तुत गर्नु तथ्यसँग मेल खाँदैन। यो नियमित सैनिक कूटनीतिको हिस्सा मात्र हो, न कि कुनै हस्तक्षेपको संकेत।






