सामाजिक सञ्जालमा डुंगा सयर गर्दै ‘अबकी बार गगन सरकार’ नारा लगाइएको भिडियो विदेशको भएको दावीका साथ फैलाइएको छ। तर, तथ्य जाँचका क्रममा उक्त भिडियो नेपालकै सर्लाहीस्थित भरत तालमा खिचिएको पुष्टि भएको छ।
के हो दावी?
११ हजारभन्दा बढी फलोअर्स रहेको We want Gagan Thapa नामक फेसबुक पेजले फेब्रुअरी १ मा १९ सेकेन्डको भिडियो पोस्ट गर्दै “विदेशमा पनि गुञ्जियो—अबकी बार गगन सरकार” दाबी गरेको छ।
भिडियोमा केही व्यक्तिहरू तालमा डुंगा सयर गर्दै ‘अबकी बार गगन सरकार’ भन्दै नारा लगाइरहेको देखिन्छ। तथ्य जाँच गरिएको समय (फेब्रुअरी १४ दिउँसो) सम्म उक्त भिडियोमा ५ हजार ८ सयभन्दा बढी प्रतिक्रिया, २ सय ९१ कमेन्ट र २५७ पटक सेयर भइसकेको थियो।
के हो तथ्य?
तथ्य जाँचका क्रममा भिडियोबाट एउटा फ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्दा @aarskaudinya नामक टिकटक प्रयोगकर्ताले जनवरी २७ मा उही भिडियो पोस्ट गरेको भेटियो।
भिडियोको पृष्ठभूमिमा देखिएको खेल्ने ठाउँ र तालको किनाराको ढिस्कोको आधारमा थप विश्लेषण गरिएको थियो। ‘अबकी बार’ नारा लगाउने व्यक्ति नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी रहेको पहिचान भयो।
सम्पर्क गर्दा उनले उक्त भिडियो भरत तालको भएको पुष्टि गरे। भरत ताल बागमती नगरपालिका, सर्लाही जिल्लामा अवस्थित छ।
उनका अनुसार केही व्यक्तिले भिडियो डाउनलोड गरी विदेशको भनेर पोस्ट गरेको आफूले पनि सामाजिक सञ्जालमा देखेका छन्।
थप पुष्टिका लागि ‘भरत ताल’ किवर्ड प्रयोग गरेर खोज्दा इकान्तिपुर डटकममा प्रकाशित फोटोफिचरमा पनि भिडियोमा देखिएको झण्डा र ताल किनाराको संरचना मिल्दोजुल्दो देखियो।
यस्तै, Vlog Wala Ravi युट्युब च्यानलमा फेब्रुअरी १४ मा पोस्ट गरिएको भरत तालसम्बन्धी भिडियोको फुटेजमा समेत उही दृश्य पुष्टि हुन्छ।
तथ्य जाँच निष्कर्ष
दावी: ‘अबकी बार गगन सरकार’ नारा विदेशमा गुञ्जिएको भिडियो।
दावीकर्ता: We want Gagan Thapa फेसबुक पेज।
निष्कर्ष: ❌ भ्रामक सूचना।
भिडियोको फ्रेम विश्लेषण, रिभर्स इमेज सर्च, खुला स्रोत सामग्रीसँग दृश्य तुलना तथा प्रत्यक्ष स्रोतसँगको पुष्टि अनुसार उक्त भिडियो विदेशमा नभई सर्लाहीको भरत तालमा खिचिएको हो।
नारा लगाइएको घटना वास्तविक भए पनि स्थानबारे सन्दर्भ परिवर्तन गरेर प्रस्तुत गरिएकोले दर्शकलाई विदेशमा भएको भ्रम सिर्जना गरिएको छ। त्यसैले विदेशमा उक्त नारा गुञ्जिएको भन्ने दाबी तथ्यसँग मेल खाँदैन।






