कैलाली – कैलालीको मोहन्याल गाउँपालिका–१ तल्लोपानीस्थित जंगलभित्र एक युवतीको शव फेला परेको छ।
नवप्रगतिशील सामुदायिक जंगलमा शनिबार दिउँसो करिब २७ वर्षीया युवतीको शव भेटिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले जानकारी दिए।
प्रहरीका अनुसार मृतक युवतीको पहिचान हालसम्म खुल्न सकेको छैन। शवको अनुहार जलेको अवस्थामा फेला परेकाले पहिचान गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीको नेतृत्वमा टोली खटिएको छ। तालिमप्राप्त कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान सुरु गरेको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय कैलालीबाट पनि विशेष अनुसन्धान टोली परिचालन गरिएको एसपी चन्दले बताए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






