झापा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेकपा (एमाले)का अध्यक्ष तथा झापा–५ का उम्मेदवार केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी रणनीति परिवर्तन गरेका छन्।

क्षेत्रीय भ्रमणपछि ओलीले ठूला आमसभा र भाषणभन्दा मतदातासँग प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिन निर्देशन दिएको एमालेले जनाएको छ। सोहीअनुसार शुक्रबारदेखि विशेष ‘घरदैलो तथा व्यक्तिगत भेटघाट’ अभियान सुरु गरिएको छ।



निर्वाचन क्षेत्र नम्बर ५ का २९ वटै वडाका टोल–टोलमा एकै पटक कार्यकर्ता परिचालन गरिएको एमाले केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले जानकारी दिए। उनका अनुसार मतदाताको सुझाव सुन्न र पार्टीसँग प्रत्यक्ष जोड्ने उद्देश्यले नयाँ रणनीति अपनाइएको हो।

घरघरमा पुग्दा केन्द्रीय पदाधिकारीदेखि जिल्ला, क्षेत्रीय र स्थानीय टोल कमिटीका सदस्यसम्म परिचालित भएका छन्। मतदाताका गुनासा, विकाससम्बन्धी सुझाव र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे टिपोट गरिँदै त्यसलाई सम्बोधन गर्ने योजना रहेको दाहालले बताए।

दमक नगरपालिका–५ स्थित प्रशान्ति टोलमा घरदैलो अभियानमा सक्रिय अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लीला ढुङ्गेल दाहालले एकै दिन झन्डै ७० घरमा पुगेर संवाद गरिएको बताइन्। “मतदाताका सकारात्मक सुझावदेखि आलोचना र गालीसम्म हामीले टिपोट गरेका छौँ,” उनले भनिन्, “जनताबाट उत्साहजनक प्रतिक्रिया पाइरहेका छौँ।”

एमालेले यो अभियानमार्फत सामाजिक सञ्जालमा एआई प्रयोग गरेर फैलाइएका भनिएका भ्रम चिर्ने उद्देश्य राखेको जनाएको छ। प्रविधिको दुरुपयोगबाट फैलाइएका नकारात्मक सन्देशको सामना घरदैलोमै पुगेर गर्ने रणनीति लिइएको संयोजक दाहालको भनाइ छ।

भयरहित वातावरण निर्माण र आपसी सद्भाव कायम राख्ने सन्देशसहित सुरु गरिएको अभियान केही दिन निरन्तर जारी रहने एमालेले जनाएको छ। पार्टीले यो रणनीतिले निर्वाचन परिणाममा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय