रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा सभापति नवराज वली नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कांग्रेस उम्मेदवार राजु केसीसहितको घरदैलो अभियानका क्रममा काफलबोटमा आयोजित कार्यक्रममा वलीसहित तीन जना नेता कांग्रेसमा प्रवेश गरेका हुन्।



कांग्रेसमा प्रवेश गर्नेमा रास्वपाका वडा सभापति नवराज वलीसँगै नेपाल कम्युनिष्ट पार्टीका लोकबहादुर खड्का र तिलक रोकाय रहेका छन्। नवप्रवेशी तीनै जनालाई कांग्रेस उम्मेदवार केसीले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए। उक्त जानकारी नेपाली कांग्रेस सानीभेरी गाउँपालिकाका उपसभापति सम्राट क्षेत्रीले दिएका छन्।

पार्टी प्रवेशपछि वलीले जनताको अपेक्षा अनुसार काम गर्न सक्ने सक्षम र जिम्मेवार नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि आफूले नेपाली कांग्रेस रोजेको बताए। उनले विकास, सुशासन तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि कांग्रेस नै उपयुक्त शक्ति भएको धारणा व्यक्त गरे।

नवप्रवेशी नेताहरूले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार राजु केसीले विभिन्न राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै गएको भन्दै यसले पार्टीप्रतिको जनविश्वास थप मजबुत भएको बताए। समावेशी विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र सुशासन आफ्नो प्रमुख प्राथमिकता रहेको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय