अस्ट्रेलियाको पर्थ शहरमा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेकी एक नेपाली महिलाको ज्यान गएको छ। शुक्रबार राति छोरीको घरमा सुतिरहेकी ५३ वर्षीया विष्णुकुमारी गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
परिवारका अनुसार ‘हिमाली’ नामले समेत चिनिने गुरुङ तीन दिनअघि मात्रै नेपालबाट अस्ट्रेलिया पुगेकी थिइन्। पर्थको रिभरभेलस्थित युनिटमा राति करिब ११:४० बजे सडकबाट चिप्लिएको पहेँलो रंगको फोर्ड फल्कन सेडान कार घरभित्र ठोक्किँदा उनी ओछ्यानमै सुतिरहेको अवस्थामा ज्यान गुमाउन बाध्य भइन्।
पुलिसका अनुसार एलेक्जान्डर रोडमा गुडिरहेको कार अनियन्त्रित भई सिधै घरमा ठोक्किएको थियो। ठक्करपछि गुरुङको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
आइतबार दिउँसो मृतककी छोरी निशाले सञ्चारमाध्यमसँग कुरा गर्दै आफू अझै उक्त भयावह घटनाको सम्झनासँग जुधिरहेको बताइन्। “उहाँ सुरक्षित ठाउँमा ओछ्यानमा सुतिरहनुभएको थियो। हामीसँग माया र सम्झना बाँड्न यहाँ आउनुभएको थियो,” उनले भनिन्। निशाका अनुसार उनकी आमा मंगलबार मात्रै पर्थ आइपुगेकी थिइन् र नातिसँग समय बिताउने चाहना राखेकी थिइन्। उनले दोषीलाई कडा कारबाही हुने आशा व्यक्त गरिन्।
परिवारले अन्त्येष्टि खर्च तथा नेपालबाट आफन्त ल्याउन सहयोग जुटाउने उद्देश्यले अनलाइनमार्फत चन्दा संकलन सुरु गरेको छ। चन्दासँगै सार्वजनिक सन्देशमा गुरुङलाई “जीवन्त, दयालु, निःस्वार्थ र परिवारको आत्मा”को रूपमा स्मरण गरिएको छ।
यस घटनामा संलग्न ३६ वर्षीय राइस हकिङ्सलाई प्रहरीले ‘म्यानस्लाटर’ तथा सम्पत्ति क्षतिको अभियोगमा पक्राउ गरेको छ। आइतबार अदालतमा पेश गरिएका उनलाई हिरासतमा राखिएको छ भने आगामी फेब्रुअरी १८ मा पुनः अदालतमा उपस्थित गराइनेछ।
छिमेकी अली कुरिम्भोईले ठोक्किएको आवाज “विमान छतमा खसेजस्तो” लागेको बताए। उनका अनुसार ठूलो आवाजपछि केही मिनेटमै प्रहरी र एम्बुलेन्स घटनास्थलमा पुगेका थिए।
पर्थमा घरमा कार ठोक्किने घटना कहिलेकाहीँ हुने भए पनि घरभित्र सुतिरहेका व्यक्तिको मृत्यु हुने घटना भने दुर्लभ मानिन्छ। सन् २०११ मा ‘सेफ्टी बे’ क्षेत्रमा यस्तै दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो।






