वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित एक ट्रान्सपोर्ट गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि व्यापारीहरूले आक्रमण गरेका छन्। घटनामा एक जना सशस्त्र प्रहरी घाइते भएका छन् भने प्रहरीको गाडीको शीशा फुटेको छ।

सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा रहेको टोली आदर्शनगरस्थित विनोद साह (कानु) सञ्चालक रहेको सबिता ट्रेडर्सको गोदाममा छापा मार्न पुगेको थियो।



सशस्त्र प्रहरीका अनुसार राजस्व छलेर भित्र्याइएको सामान गोदाममा भण्डारण गरिएको सूचना प्राप्त भएपछि दुईवटा गाडीमा टोली खटाइएको थियो। गोदाममा खानतलासी सुरु गर्न खोज्दा त्यहाँ भेला भएका व्यापारीहरूसँग विवाद भएको र त्यसपछि अवस्था तनावग्रस्त बनेको प्रहरीको भनाइ छ।

प्रहरीले गोदामको ढोकाको ताल्चा खोल्ने प्रयास गरेपछि व्यापारीहरूले प्रतिवाद गर्दै ढुंगा र बाँसको भाटाले प्रहरी सवार गाडीमाथि आक्रमण गरेका थिए। आक्रमणपछि सशस्त्र प्रहरी टोली गाडी लिएर त्यहाँबाट फर्किएको थियो।

सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार आक्रमणका क्रममा एक सुरक्षाकर्मी घाइते भएका छन् र उनको उपचार भइरहेको छ। साथै, गोदामबाट केही सामान नियन्त्रणमा लिइएको र त्यसको लगत संकलन गर्ने काम भइरहेको उनले जानकारी दिए। गोदाम सञ्चालकबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।

यता आदर्शनगरका ट्रान्सपोर्ट व्यवसायीहरूले भने सशस्त्र प्रहरीले अनावश्यक रूपमा दुःख दिने गरेको आरोप लगाएका छन्। बिलबिजक भएका सामानसमेत जबर्जस्ती उठाएर लैजाने, पछि राजस्व अनुसन्धान कार्यालयमा प्रमाण देखाएपछि मात्र सामान फिर्ता हुने अवस्था आएको उनीहरूको भनाइ छ।

एक व्यवसायीले भने, “गोदाममा खानतलासी गर्ने अधिकार राजस्व अनुसन्धान कार्यालयसँग मात्रै छ। तर सशस्त्र प्रहरीले पटक–पटक ताल्चा फुटाएर छापा मार्ने र सामान लैजाने गरेको छ। यही कारण आजको अवस्था आएको हो।”

घटनाबारे दुवै पक्षको दाबीबीच अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय