मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए।
प्रहरीले प्रसाईंलाई शुक्रबार दक्षिणकालीस्थित चाल्नाखेलबाट पक्राउ गरेको थियो। काठमाडौंबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेका बेला उनी पक्राउ परेका थिए।
प्रसाईं पछिल्लो समय ‘पहिला हिन्दू अधिराज्य, अनि मात्रै निर्वाचन’ भन्ने अभिव्यक्ति दिँदै आएका थिए। उनले माघ १९ गते चितवनमा आयोजित कार्यक्रममा राजसंस्था पुनःस्थापना नभएसम्म निर्वाचन नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।
उक्त कार्यक्रममा प्रशासनले तोकेको स्थानभन्दा फरक ठाउँमा कार्यक्रम आयोजना गरिएपछि केही समय तनावको अवस्था समेत सिर्जना भएको थियो।






