नेपालको हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बीमा रकम ठगी गरेको अभियोगमा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लाजिम्पाटस्थित श्रीधी इन्टरनेशनल हस्पिटल प्रा.लि. का सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना रहेका छन्। पर्वतको मोदी गाउँपालिका–२ स्थायी घर भएका ४४ वर्षीय तिमिल्सिनालाई काठमाडौँ जिल्ला अदालतको अनुमतिमा माघ २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।



प्रहरीका अनुसार डा. तिमिल्सिना माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिस लगायतका रेस्क्यू कम्पनीहरूसँग मिलेमतो गरी नक्कली कागजात तयार पार्दै बीमा ठगीमा संलग्न रहेको पाइएको हो।

अनुसन्धानका क्रममा ती कम्पनीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको अभिलेखमा रहेको प्यासेन्जर एण्ड कार्गो म्यानिफेस्ट विवरणमा हेरफेर गरी किर्ते बिलहरू तयार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

त्यसैगरी उद्धार गरिएको भनिएका पर्यटकहरूलाई अस्पतालमा अनिवार्य रूपमा भर्ना गरिएको र उपचार गराइएको झूटो प्रतिवेदन तयार पारेर बीमा कम्पनीसँग ठूलो रकम दाबी गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार यस प्रकारको गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रलाई गम्भीर क्षति पुर्‍याएको छ। नेपाललाई असुरक्षित गन्तव्यका रूपमा चित्रण गरिँदा पर्यटक आगमनमा समेत नकारात्मक प्रभाव परेको दाबी गरिएको छ।

डा. तिमिल्सिनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) तथा किर्ते सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि पनि सोही प्रकरणमा संलग्न अन्य रेस्क्यू कम्पनीका सञ्चालक र कर्मचारीहरू अनुसन्धानको दायरामा आइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर