खोटाङमा बिहे भोज खाएपछि करिब साढे एक सय जना बिरामी परेका छन्। जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा माघ २१ गते भएको विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते साँझदेखि बिरामी पर्न थालेका हुन्।
भोज खाएको करिब १२ घण्टापछि ज्वरो आउने, काम्ने, झाडापखाला लाग्ने जस्ता लक्षण देखिएको जनाइएको छ। घटना ‘फुड पोइजन’का कारण भएको आशंका गरिएको छ।
बिरामी परेका स्थानीयको दिप्लुङकै निगालावास भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर सञ्चालन गरी उपचारको व्यवस्था मिलाइएको जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेम खड्काले जानकारी दिए। उनका अनुसार बिरामीको संख्या बढ्दै गएपछि स्वास्थ्य कार्यालयबाट थप औषधि र जनशक्ति मगाइएको हो।
घटनामा बेहुला–बेहुलीसमेत बिरामी परेका छन्। उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टोली, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको संयुक्त टोली परिचालन गरिएको छ।
हालसम्म अधिकांश बिरामी उपचारपछि घर फर्किएका छन्। तर ३५ जनाको अवस्था गम्भीर रहेकाले स्लाइनपानी, जीवनजललगायत औषधि दिएर उपचार भइरहेको उपाध्यक्ष खड्काले बताए।
भोजमा सहभागी भएर फर्किएका उदयपुर, काठमाडौंलगायत स्थानका पाहुनाहरू पनि बिरामी परेको सूचना प्राप्त भएको गाउँपालिकाले जनाएको छ।
‘फुड पोइजन’को वास्तविक कारण पत्ता लगाउन प्रदेशबाट नमुना संकलन गर्न टोली मगाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले जानकारी दिए।






