बैतडीको पुर्चौडी नगरपालिका–७ बडूगाउँमा जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाएका १३ मध्ये ८ जनाको शनिबार एकैचोटी सामूहिक अन्त्येष्टि गरिएको छ।
बझाङको बित्थडचिर गाउँपालिका–७ का ती मृतकहरूको कालङ्गा आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको हो। एकै परिवार र नजिकका आफन्त गुमाउनुपरेपछि गाउँ शोकमा डुबेको छ।
सामूहिक अन्त्येष्टि गरिएकामा लघुणासाका सहोदर दाजुभाइ नरेन्द्रराज जोशी, विष्णुदत्त जोशी र वसन्तराज जोशी, बाबु–छोरा केशवराज जोशी र अशोकराज जोशी, सहोदर दाजुभाइ किसनदत्त जोशी र विसनदत्त जोशी तथा आफन्त दीपकराज जोशी रहेका छन्।
त्यसैगरी दुर्घटनामा ज्यान गुमाएका बझाङको जयपृथ्वी नगरपालिका–७ का वसन्तराज रतालाको चैनपुरमा अन्त्येष्टि गरिएको छ। केदारस्युँ गाउँपालिकाका बुवा–छोरा मोहनदेव भट्ट र केशवराज भट्टको बागथला आर्यघाटमा अन्त्येष्टि गरिएको छ।






