दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको अन्त्येष्टि भोलि आइतबार मात्र गरिने भएको छ।
थापाको परिवार मुम्बईबाट नेपाल आउन ढिला भएका कारण शनिबार अन्त्येष्टि हुन नसकेको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए। परिवारजन शनिबार दिउँसै नेपाल आउने बताइए पनि साँझसम्म आइपुग्न नसकेपछि अन्त्येष्टि स्थगित गरिएको हो।
निरौलाका अनुसार अन्त्येष्टिअघि थापाको पार्थिव शरीरलाई केही समय चलचित्र विकास बोर्डमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने छ।
वरिष्ठ कलाकार थापाको शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो। शंखमुलस्थित एक अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र उद्योगमा सक्रिय थिए।
नेपाली चलचित्रमा ‘खलनायक’ पात्रलाई पनि नायकसरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ नामले विशेष रूपमा परिचित थिए। उनले यो परिचय कालजयी फिल्म **‘चिनो’**बाट पाएका हुन्। बलिउड फिल्ममा व्यस्त रहँदा पनि ‘चिनो’मा अभिनय गर्न नेपाल आएका थापाले त्यसपछि लगातार नेपाली चलचित्रमा काम गरे।
उनले अभिनय गरेको पछिल्लो फिल्म ‘पहाड’ प्रदर्शनको तयारीमा छ। थापाको निधनले नेपाली सिने क्षेत्रमा अपूरणीय क्षति पुगेको कलाकार तथा शुभेच्छुकहरूले बताएका छन्।






