ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा दुई साताअघि भएको दम्पत्ती हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार भदौरेका ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको हत्या तथा लुटपाटमा संलग्न रहेको अभियोगमा सोही स्थानका दाजुभाइ रहेका दुई जनालाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख मदन केसीले पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौँबाट नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार उनीहरूलाई ओखलढुंगा ल्याउने तयारी भइरहेको छ।
केसीले भने,
“हामी थप अनुसन्धान गरिरहेका छौँ। भोलि पत्रकार सम्मेलनमार्फत सबै विवरण सार्वजनिक गर्नेछौँ।”
हालसम्म पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन। भदौरेको बोहोरे क्षेत्रमा बसोबास गर्दै आएका राई दम्पत्तीको हत्या पछि घरबाट लुटपाटसमेत भएको थियो।
उल्लेखनीय छ, भदौरे क्षेत्रमा पछिल्लो एक महिनाभित्र लगातार दुईवटा दम्पत्ती हत्या भएका छन्। यसअघि सोही स्थानमा ६० वर्षीय शोभितमान थापामगर र उनकी पत्नी रत्नमाया थापामगरको हत्या भएको थियो। त्यसको करिब एक महिनापछि चन्द्र विक्रम राई दम्पत्तीको हत्या भएको हो।






