वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। शनिबार बिहानै छायांकनमा जानुपर्ने तयारीमा रहेका थापाको आकस्मिक निधनले नेपाली मात्र होइन, भारतीय फिल्म तथा सिरिज क्षेत्रलाई समेत शोकमा डुबाएको छ।

अभिनेता विल्सनविक्रम राई ‘तक्मे बुढा’ ले सुनिललाई बिहान उठाइदिनुपर्ने थियो। तर उठाउन जान नपाउँदै उनले थापा सधैंका लागि अस्ताएको दुःखद खबर सुन्नुपर्‍यो।



१९ मे १९५७ मा जन्मिएका थापाले चार दशकभन्दा बढी समय अभिनय, मोडलिङ, खेलकुद र फिल्म उद्योगमा योगदान दिए। उनको करिअर मोडलिङबाट सुरु भएको हो। सन् १९७४ मा मुम्बईमा मोडलिङ गर्दै बिन्नी र माफतलाल जस्ता प्रतिष्ठित ब्रान्डका लागि काम गरे। त्यससँगै उनी फुटबल खेलाडी र फोटो पत्रकारको रूपमा पनि सक्रिय रहे।

सन् १९८१ मा भारतीय फिल्म ‘एक दुजे के लिए’ बाट बलिउडमा डेब्यू गरेका थापा कालजयी नेपाली फिल्म ‘चिनो’ बाट नेपाली दर्शकमाझ अत्यन्त लोकप्रिय बने। ‘चिनो’ मा निभाएको राते काइँला पात्रले उनलाई नेपाली सिनेमाको सबैभन्दा स्मरणीय खलनायकको रूपमा स्थापित गर्‍यो।

१३८ भन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका थापाको पछिल्लो रिलिज फिल्म ‘एक्लो’ हो। छायांकन सकिएको ‘राम नाम सत्य’ र तुलसी घिमिरे निर्देशित ‘पहाड’ प्रदर्शनको तयारीमा छन्।

प्रियंका चोपडा अभिनीत बलिउड फिल्म ‘मेरी कम’ (२०१४) मा प्रशिक्षकको भूमिकामा देखिएका थापाले फिल्मफेयर अवार्डमा मनोनयनसमेत प्राप्त गरेका थिए।

खलनायक भूमिकामा नयाँ मापदण्ड स्थापित गर्ने कलाकारका रूपमा चिनिएका थापाले नेपाली सिनेमामा खलनायकलाई केवल दुष्ट पात्र होइन, बौद्धिक, शक्तिशाली र मानवीय चरित्रका रूपमा प्रस्तुत गरे। यही कारण उनी भर्सटाइल अभिनेता बने।

उनको अभिनय शैली, संवादको तौल, मौनतामा समेत देखिने प्रभाव र चरित्रको गहिराइ नेपाली फिल्म इतिहासमा सधैं स्मरणीय रहनेछ। सुनिल थापाको निधनसँगै नेपाली सिनेमाले एक सशक्त कलाकार र खलनायक पात्रको ट्रेन्ड–सेटर गुमाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर