बैतडीको पुर्चौडी नगरपालिका–७, भौने गाउँ बिहीबार बिहानदेखि नै बिहेको उल्लासमा डुबेको थियो। दिनभरि विवाहका कामकाज सकिए। साँझ पर्दै जाँदा बेहुलीलाई घरबाट बिदाइ गरियो। खुसी, हाँसो र शुभकामनाबीच जन्ती बझाङको बित्थडचिर गाउँपालिका–७, लघुणासा तर्फ लाग्यो।
तर, त्यो खुसी धेरै टाढासम्म जान पाएन।
बेहुलीको घर भौते गाउँबाट केहीबेर अघि बढ्न नपाउँदै बिहेको उल्लास शोकमा परिणत भयो। जन्ती बोकेको पवनदूत यातायातको सु.प्र. ०२–००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ को बढ्गाउँ (मढगाउँ मोड) नजिक दुर्घटनामा पर्यो। यस घटनाले भौने र लघुणासा दुवै गाउँलाई गहिरो शोकमा डुबाएको छ।
उकालोमा बन्द भयो बस, भीरबाट खस्यो
बेहुला–बेहुली जीपमा अगाडि थिए। बेहुलीका भाइ सोमराज पनि सोही जीपमा थिए। पछिपछि जन्ती बोकेको बस हिँडिरहेको थियो, जसमा अर्का भाइ सुशीलसहित आफन्त र इष्टमित्र खचाखच भरिएका थिए।
यात्रा सुरु भएको करिब १५ मिनेट मात्र भएको थियो। मढगाउँ मोडको उकालोमा पुग्दा बस एक्कासी बन्द भयो। चालकले रोक्ने प्रयास गरे पनि बस पछाडि गुड्दै गयो र भीरबाट तल खस्यो।
“चालकले धेरै प्रयास गर्नुभयो, तर बस रोकिएन,” दुर्घटनाबाट हाम फालेर ज्यान जोगाएका अम्मरराज जोशीले भने, “पछाडि गुडेर भीरबाट खस्यो। म उत्तिसको रुखमा अड्किएँ, त्यहीँ बाँचियो।”
१३ को मृत्यु, ३४ घाइते
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा १३ जनाको ज्यान गएको छ।
६ जनाको घटनास्थलमै,
२ जनाको कोटिला स्वास्थ्य चौकीमा
र ५ जनाको डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
३४ जना घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि रेफर गरिएको छ। डडेल्धुरा अस्पतालबाट १२ जना डिस्चार्ज भइसकेका छन् भने ११ जनाको उपचार जारी छ। ४ जना घाइतेको बझाङको देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
एउटै गाउँका बुवाछोरा, दाजुभाइ ढले
दुर्घटनाले बित्थडचिर–७, लघुणासा गाउँलाई सबैभन्दा ठूलो चोट पुर्याएको छ। सोही गाउँका बुवाछोरा र दाजुभाइले ज्यान गुमाएका छन्।
४० वर्षीय केशवराज जोशी र उनका १३ वर्षीय छोरा अशोक जोशीको घटनास्थलमै मृत्यु भयो।
जन्ती गएका ४२ वर्षीय नरेन्द्र जोशी र उनका ४१ वर्षीय भाइ विष्णु जोशी पनि घर फर्किन पाएनन्। उनीहरू बेहुलाका काका पर्छन्। नरेन्द्र बित्थडचिर–६ का वडा सचिव थिए भने विष्णु बित्थडचिरस्थित महादेव माध्यमिक विद्यालयका शिक्षक थिए।
उनीहरूका भतिजा, ३५ वर्षीय बसन्तराज जोशीको पनि घटनास्थलमै मृत्यु भयो। बसन्तराज गाउँपालिकामा कृषि प्राविधिक थिए।
अन्य मृतकहरू
दुर्घटनामा
केदारस्युँ गाउँपालिका–४ का ६० वर्षीय मोहनदेव भट्ट,
जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला,
पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी,
लघुणासाका १७ वर्षीय बिसनदत्त जोशी,
२८ वर्षीय दीपकराज जोशी,
४५ वर्षीय किसनदत्त जोशी,
र केदारस्युँ गाउँपालिका–७ का २७ वर्षीय केशवराज भट्टको पनि मृत्यु भएको छ।
लघुणासा गाउँका मात्रै ८ जनाले ज्यान गुमाएका छन्।
जन्तीको पर्खाइमा गाउँ शोकमा
जन्तीको स्वागत गर्ने तयारीमा बसेका लघुणासा गाउँका बासिन्दा अहिले शोकमा डुबेका छन्। बित्थडचिर गाउँपालिका–७ का वडाध्यक्ष दिनेश अधिकारीका अनुसार मृतकका शव देउलेख ल्याइएको छ र गाउँ लैजाने तयारी भइरहेको छ।
बिहेको दिन खुसी साट्न निस्किएका मानिसहरू अब कहिल्यै नफर्किने भएपछि भौने र लघुणासा गाउँमा रुवाबासी छाएको छ।






