बझाङको बित्थडचिर गाउँपालिका–७ लघुणाछा र बैतडीको पुर्चौडी नगरपालिका–७ भौनी गाउँ यतिबेला गहिरो शोकमा डुबेका छन्। जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएपछि यी दुई गाउँका बासिन्दा विक्षिप्त बनेका छन्।
दुर्घटनामा ३४ जना घाइते भएका छन्। मृतक र घाइतेहरू सबै बेहुला–बेहुली पक्षका आफन्त तथा इष्टमित्र रहेको प्रहरीले जनाएको छ।
२०० मिटर तल खस्यो बस
पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको जन्ती बोकेको बस बिहीबार सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो भने कोटिला स्वास्थ्य चौकीमा २ जना र डडेल्धुरा अस्पताल लैजाँदै गर्दा थप ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक रायले जानकारी दिए।
घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने ५ जनालाई धनगढी रेफर गरिएको छ। बाँकी ४ जनाको बझाङको देउलेख स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
मृतकहरूको विवरण
दुर्घटनामा ज्यान गुमाउनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का
४० वर्षीय केशवराज जोशी,
१३ वर्षीय अशोकराज जोशी,
३५ वर्षीय बसन्त जोशी,
४१ वर्षीय विष्णुदत्त जोशी,
४२ वर्षीय नरेन्द्रराज जोशी,
१८ वर्षीय विसनदत्त जोशी,
२७ वर्षीय दीपकराज जोशी र
४५ वर्षीय किसनदत्त जोशी रहेका छन्।
यसैगरी,
बझाङ केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट र केशवराज भट्ट,
बझाङ जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला,
बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थी तथा
१४ वर्षीय किशोर सुशील जोशीको पनि मृत्यु भएको छ।
एउटै परिवारका दाजुभाइ, बुवा–छोरा सहित १३ को ज्यान
दुर्घटनामा ज्यान गुमाउने नरेन्द्रराज जोशी र विष्णुदत्त जोशी सहोदर दाजुभाइ हुन्। उनीहरू बेहुलाका काका पर्छन्। नरेन्द्रराज बित्थडचिर गाउँपालिकाका प्राविधिक सहायक थिए भने विष्णुदत्त बित्थडचिरस्थित महादेव माध्यमिक विद्यालयका शिक्षक थिए।
यसैगरी, बसन्तराज जोशी मृतक दाजुभाइका जेठा दाजुको छोरा हुन् र गाउँपालिकामा कृषि प्राविधिकको रूपमा कार्यरत थिए। मृतक मोहनदेव भट्ट र केशवराज भट्ट बुवा–छोरा हुन् भने १४ वर्षीय सुशील जोशी बेहुलीका भाइ हुन्।
गाउँ नै रोयो, भोज खान गएकाहरू कुरुवा बने
बित्थडचिर गाउँपालिका–७ का वडाध्यक्ष दिनेश अधिकारीका अनुसार लघुणाछा गाउँमा करिब १० घर मात्रै छन्, जसमध्ये अधिकांश घरका सदस्यहरू दुर्घटनाको चपेटामा परेका छन्।
“हिजोसम्म बिहेको रमाइलो थियो, आज गाउँ नै रोइरहेको छ,” उनले भने, “भोज खान गएकाहरू अहिले शव कुर्न र घाइतेको हेरचाह गर्न अस्पतालमा छन्।”
वडा सदस्य परिमलीदेवी जोशीले पनि घटना सम्झँदै भनिन्, “हिजो दिनभर बिहेमा रमाइलो थियो। राति ८ बजे दुर्घटनाको खबर आएपछि गाउँ नै तितरबितर भयो। अहिले म अस्पतालमा घाइते श्रीमान्को कुरुवा बसेकी छु।”
विक्षिप्त शिक्षक उत्तमराज जोशी
लघुणाछा गाउँका शिक्षक उत्तमराज जोशी गाउँका ६ जनाको मृत्यु भएपछि विक्षिप्त अवस्थामा पुगेका छन्। उनी बसमा नभई बाइकमा रहेकाले जोगिएका थिए।
“मेरो परिवारमा म बाहेक कोही सुरक्षित छैन,” रुँदै उनले भने, “दुई काका, दाजुभाइ, भतिजा, बहिनीज्वाइँ सबै गइसके। कसरी समालिउँ, किरिया गर्ने मान्छेसमेत रहेन।”






