नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
पार्टीको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले झापा–५ र सर्लाही–४ मा समेत नेकपाका उम्मेदवारले जित्ने रिपोर्ट आफूले पाउँदै आएको बताएका हुन्।
उनले भने, “ठूला नेताहरू भिडेको समाचार तपाईंहरूले मिडियामा देख्नुहुन्छ। झापा–५ र सर्लाही–४ को चर्चा जताततै छ। आज बिहान मात्रै ती ठाउँका स्वतन्त्र बुद्धिजीवी र पार्टीका साथीहरू मसँग आउनुभएको थियो। उहाँहरूले तथ्यांक देखाएर भन्नुभयो—नाम अरूको आएको देखिए पनि जित्ने नेकपाले नै हो।”
प्रचण्डका अनुसार सामाजिक सञ्जालमा नेकपाका उम्मेदवारको नाम कम देखिए पनि जनताको मनमा पार्टी गहिरोसँग बसिसकेको छ। “नाम नआए पनि जनताको मनमा छिरिसकेको छ। अन्ततः जितेर देखाउँछन्,” उनले भने।
उनले ‘नयाँ’ भनिने शक्तिको भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्दै नेकपालाई जिताउन एकताबद्ध भएर लाग्न आह्वान गरे।






