काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर हुँदा सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेका बालेन शाह मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिँदा पूरै फरक अवतारमा देखिएका छन्। झापा–५ बाट उम्मेदवार बनेका बालेन अहिले भूगोल, भाषा, संस्कृति र आस्थामार्फत मतदातासँग जोडिने रणनीतिमा उत्रिएका छन्।
कम बोल्ने, एकै ठाउँ धेरै नबस्ने स्वभावका बालेन अहिले देश दौडाहमा छन्। तर यो दौडाह केवल चुनावी प्रचारमा सीमित छैन, बरु सांस्कृतिक प्रतीक र भावनात्मक सन्देशमार्फत प्रतिस्पर्धी केपी शर्मा ओलीलाई सांकेतिक काउन्टर दिने अभियान जस्तै देखिन्छ।
माघ ६ गते उम्मेदवारी दर्ता गरेलगत्तै बालेनको पहिलो गन्तव्य बन्यो ताप्लेजुङको पाथिभरा (मुकुमलुङ) मन्दिर। पाथिभरामा केबलकार निर्माणलाई लिएर पहिचानवादी आन्दोलन चलिरहेको सन्दर्भमा बालेनको दर्शनलाई धार्मिक सद्भाव र पहिचान सम्मानको संकेत का रूपमा हेरिएको छ।
त्यसपछि इलाम, पाँचथर, तेह्रथुम हुँदै झापा पुगेका बालेनले बाटोमा पर्ने मठ–मन्दिरहरूमा दर्शन गरे। झापाको प्रचारका क्रममा दुर्गा मन्दिर पुगेको तस्वीर सार्वजनिक भएपछि उनी धर्म–संस्कृतिसँग नजिकिँदै गएको सन्देश बलियो बनेको छ।
बुधबार बालेन पुगे बराहक्षेत्र र त्यसपछि किराँत सभ्यताको प्रतीक खुवालुङ। खुवालुङ अगाडि खिचिएको तस्वीर सामाजिक सञ्जालमा राख्दै उनले यसलाई ‘सभ्यताको द्वार’ र ‘जीवित सांस्कृतिक–आध्यात्मिक परम्परा’को प्रतीक भनेका छन्।
खुवालुङ त्यही स्थान हो, जसलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन ८ गते सप्तकोशीमा जेटबोट चलाउन बाधा बनेको भन्दै फुटाउने अभिव्यक्ति दिएका थिए। त्यसपछि किराँत समुदायमा तीव्र विरोध भएको थियो।
बालेनको खुवालुङ भ्रमणलाई धेरैले ओलीको त्यो अभिव्यक्तिको मौन तर प्रभावशाली काउन्टर का रूपमा लिएका छन्। विकासका नाममा सम्पदा नष्ट नगर्ने सन्देश दिँदै उनले किराँत समुदायको मन जित्ने प्रयास गरेका छन्।
बालेनको चुनावी अभियानको अर्को विशेषता भनेको ठाउँ अनुसारको भाषिक प्रस्तुति हो।
सुदूरपश्चिम पुग्दा उनले लेखे— ‘सुदूर अब दूर नाई, झिक्कै झिक्कै माया तम्लाई’।
कर्णाली पुगेर भने— ‘कर्नालीका सुइना, अब हाम्मा सुइना’।
पूर्व आइपुग्दा किराँत मुन्धुम र सभ्यतासँग जोडिएको सन्देश दिनुले बालेन हरेक जात, भाषा र समुदायको सेन्टिमेन्ट समेट्ने प्रयासमा देखिन्छन्।
विराटनगरका राजनीतिक विश्लेषक गिरिश भट्टराई बालेनको यात्रालाई धार्मिक र सांस्कृतिक सेन्टिमेन्टसँग जोडिएको चुनावी रणनीति मान्छन्।
‘नेपालमा मात्र होइन, भारतमा पनि धर्मको राजनीति हाबी छ,’ उनी भन्छन्, ‘बालेनले चुनावको पिक समयमा मतदातासँग भावनात्मक रूपमा कसरी जोडिने भन्ने हिसाबले धार्मिक यात्रा गरेका हुन्।’
उनका अनुसार बालेनले सामाजिक सञ्जाल, युवा समर्थन र भावनात्मक मुद्दालाई एउटै फ्रेममा राखेका छन्।
बुधबार मोरङ, सुनसरी र उदयपुर पुगेका बालेनले मतदातासामु घण्टी बजाएर सांकेतिक रूपमा भोट मागे। कतै १० मिनेटभन्दा बढी नबसी अघि बढ्ने उनको शैली अन्य नेताभन्दा बिल्कुलै फरक देखिएको छ।
रास्वपा नेता तथा मोरङ–३ का उम्मेदवार गणेश कार्की भन्छन्,
‘१६५ वटै निर्वाचन क्षेत्रमा पुग्ने रणनीतिअनुसार बालेन दौडिरहनु भएको छ, त्यसैले हतार देखिएको हो।’
तीन पटक प्रधानमन्त्री भइसकेका शक्तिशाली नेता केपी शर्मा ओलीविरुद्ध उभिएका बालेन अहिले मन्दिर, तीर्थ र खुवालुङको छेउमा उभिएर आफूलाई सांस्कृतिक एकताको प्रतीकका रूपमा प्रस्तुत गरिरहेका छन्।
यो अभियान चुनावी ‘सेन्टिमेन्टल मार्केटिङ’ मात्रै हो कि नेपाली राजनीतिमा नयाँ सांस्कृतिक राजनीतिको सुरुआत — यसको उत्तर मतपेटिकाले नै दिनेछ।






