काठमाडौं ।
भ्रष्टाचारविरुद्ध चर्को आवाज उठाउँदै ‘श्रमदान’ र सुशासनको नारा बोकेर चर्चामा आएका धरानका निवर्तमान मेयर हर्क साम्पाङ आफैं गम्भीर विवादमा तानिएका छन्। उनले मेयर पदमा रहँदा २२ जना आफन्त तथा निकट समर्थकलाई कानुन विपरीत नियुक्ति गरेको आरोप सार्वजनिक भएपछि उनको ‘क्लिन इमेज’ नै प्रश्नको घेरामा परेको छ।
धरान खानेपानी व्यवस्थापन बोर्डमा गरिएको भनिएको यी नियुक्तिहरू कुनै सार्वजनिक सूचना, खुला प्रतिस्पर्धा वा प्रक्रिया बिना भएको दाबी गरिएको छ। चौकीदार, माली, प्लम्बर, कार्यालय सहयोगीदेखि कम्प्युटर अपरेटरसम्मका पदमा गरिएको नियुक्तिले बोर्डलाई मासिक पाँच लाख ५९ हजार रुपैयाँभन्दा बढी आर्थिक बोझ परेको स्रोतले जनाएको छ।
आफन्तवाद कि सत्ता दुरुपयोग ?
भ्रष्टाचारविरोधी नेताका रूपमा स्थापित साम्पाङबाटै यस्तो कार्य भएको आरोप लागेपछि सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ। समर्थकहरू “राजनीतिक प्रतिशोध” भन्दै बचाउमा उत्रिँदा आलोचकहरू भने यसलाई स्पष्ट आफन्तवाद र शक्ति दुरुपयोग को संज्ञा दिइरहेका छन्।
धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा कार्यवाहक मेयरले नियमविपरीत नियुक्ति पुष्टि भए खारेज गरिने बताएका छन्। यसले प्रकरण अझ गम्भीर मोडमा पुग्ने संकेत गरेको छ।
यो विवाद साम्पाङले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको समयसँगै सार्वजनिक भएको हो। त्यसैले यसले उनको राजनीतिक यात्रामा प्रत्यक्ष असर पार्ने आँकलन गरिएको छ।






