काठमाडौं । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधेको छ ।
बुधबार निर्वाचन आयोगले मुख्यमन्त्री कार्कीलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
मुख्यमन्त्री कार्की नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन जाँदा सँगै देखिएका थिए । त्यसका साथै उनी पार्टीका विभिन्न कार्यक्रमहरूमा समेत अध्यक्ष ओलीसँगै अगाडि–पछाडि सहभागी हुँदै आएको आरोप आयोगमा परेको छ ।
निर्वाचन आचारसंहिता सरकार तथा सरकारका मन्त्रीहरूमा समेत लागू हुने व्यवस्था छ । सोही आचारसंहिताअनुसार मुख्यमन्त्री जस्तो पदमा रहेका व्यक्ति उम्मेदवारको प्रचार–प्रसार तथा राजनीतिक गतिविधिमा प्रत्यक्ष संलग्न हुन मिल्छ कि मिल्दैन भन्ने विषयमा आयोगले स्पष्टिकरण माग गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
आयोगले कार्कीको स्पष्टीकरण अध्ययन गरेपछि आवश्यक निर्णय लिने जनाएको छ ।






