ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
बालुवाटारबाट फर्किएपछि घिसिङले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गर्ने छन ।
चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय हुन थालेपछि सरकारमाथि जनस्तरबाट पटक–पटक प्रश्न उठ्दै आएको थियो । यही विषयलाई लिएर प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमै नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन् ।
घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक रहँदै आएका थिए । पछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण भएपछि उनी पार्टीका वरिष्ठ उपसभापति बनेका थिए ।
घिसिङ गत भदौ ३० गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त भएका थिए । राजीनामासँगै उनको सक्रिय दलीय राजनीति औपचारिक रूपमा अघि बढ्ने संकेत देखिएको छ ।






