राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य दीपक बोहरा कञ्चनपुर क्षेत्र नम्बर–२ बाट आगामी आमनिर्वाचनमा प्रतिस्पर्धा गर्ने निश्चित भएका छन् । क्षेत्रीय कमिटीले एकल नाम सिफारिस गरेसँगै उनको उम्मेदवारी लगभग सुनिश्चित भएको हो ।

शुक्लाफाँटा, बेदकोट र कृष्णपुर नगर समितिसहित ती नगरका सबै वडाका प्रतिनिधि तथा अन्य आकांक्षी उम्मेदवारहरूको संयुक्त बैठकले बोहरालाई सर्वसम्मत रूपमा सिफारिस गरेको क्षेत्रीय संयोजक गणेश खड्काले जानकारी दिए । यसअघि कञ्चनपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरिसकेका झंकर जोशी र हालका आकांक्षी घनश्याम विष्ट नै बोहराको प्रस्तावक तथा समर्थक रहेका थिए ।

उम्मेदवारी सिफारिसपछि बोहराले आफूलाई विश्वास गर्ने पार्टी पङ्क्तिप्रति आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्,
‘कञ्चनपुर क्षेत्र नम्बर–२ बाट रास्वपा उम्मेदवारका रूपमा मलाई सर्वसम्मत सिफारिस गर्नुभएकोमा आभारी छु । पार्टी पङ्क्तिको यो विश्वास धरमराउन दिने छैन । अन्य आकांक्षी घण्टी मित्रहरूको त्यागको उच्च सम्मान गर्नेछु र उहाँहरूको न्यायको पक्षमा सधैँ उभिनेछु ।’

बोहरा रास्वपाका संस्थापक सदस्यसमेत हुन् । यसअघि उनी पार्टीको सह–कोषाध्यक्षको जिम्मेवारीमा रहेका थिए । पार्टी सभापति रवि लामिछानेसँग निकट मानिने बोहराले विभिन्न अभियानमा सक्रिय भूमिका खेल्दै आएका छन् । उनकै नेतृत्वमा रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियानसमेत सञ्चालन गरिएको थियो ।

कञ्चनपुर–२ मा भएको अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद विजयी भएका थिए । उनले २८ हजार १ सय मत प्राप्त गर्दा नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मतसहित दोस्रो स्थान हासिल गरेका थिए ।

अब आगामी निर्वाचनमा रास्वपाले यस क्षेत्रमा कस्तो परिणाम ल्याउँछ भन्ने विषय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय