मनिला/काठमाडौं — फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले एक नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३३ वर्षीय प्रकाश पाठक रहेका छन्। फिलिपिन्स प्रहरीले उनलाई डिसेम्बर ३१ मा मालोलोस सहरको बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसो क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ।

काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको आरोप छ। यही आरोपमा काठमाडौँ जिल्ला अदालतले करिब एक महिना अघि पाठकविरुद्ध फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी गरेको थियो।

यसैबीच, मंसिर २६ गते पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्र सम्बन्धी मुद्दामा इन्टरपोल डिफ्युजन नोटिस समेत जारी गरिएको थियो।

फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनका अनुसार पाठक विदेशमा रहँदा गम्भीर सुरक्षा संवेदनशील गतिविधिहरूमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले भागेका कैदीहरूलाई आत्मसमर्पण नगर्न प्रोत्साहन गर्ने, आर्थिक सहयोग प्रस्ताव गर्ने तथा हतियारमा पहुँचबारे चर्चा गरेको जनाइएको छ।

त्यस्तै, उनी एक उच्च पदस्थ विदेशी सरकारी अधिकारीको हत्या षड्यन्त्रसँग समेत जोडिएको फिलिपिन्स प्रहरीले जनाएको छ।

अनुसन्धान अनुसार पाठक २०२५ अगस्ट १८ मा फिलिपिन्स प्रवेश गरेका थिए र डिसेम्बर १८ सम्म बस्न अनुमति लिएका थिए। तर अनुमति अवधि नाघेर बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन्।

पाठकलाई नेपाल फिर्ता पठाउने प्रक्रिया र थप अनुसन्धानबारे फिलिपिन्स तथा नेपाली अधिकारीबीच समन्वय भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय